प्रहरी नियन्त्रणबाट छुटे लगत्तै एक युवकले गरे बुबाको हत्या

Posted on: 20 Mar, 2024

चैत ७, सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्ती (मुसहरी टोल) का २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेव मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाइएको छ । 


बुबा हिराइ र ठूलोबुबा ५५ वर्षीय दशन सदाले सम्झाउन खोज्दा आवेशमा आएका लालदेवले आक्रमण गरेको छिमेकीहरूले जनाएको वडा सदस्य रमेश थापाले जानकारी दिए । बुबालाई बञ्चरोले प्रहार गरेपछि उनले ठूलो बुबा दशन सदालाई पनि आक्रमण गरेका थिए।

दशनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार घाँटीमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ भने घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हत्या आरोपमा लालदेवलाई प्रहरीले बञ्चरोसहित पक्राउ गरेर थप अनुसन्धान सुरू गरेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!