नेपाललाई आयरल्यान्डले दियो १५८ रनको लक्ष्य

Posted on: 03 Apr, 2024

चैत २१, काठमाडौँ | पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो । 

आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिए । उनले ६‍.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए । साहब आलम र मौसम ढकाल पनि दुई(दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि आयरल्यान्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए । 


आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान केडले टोलीको खातामा ५१ रन थपे । यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए ।  कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए ।

आयरल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२–१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरे । आयरल्यान्डले अतिरिक्त रुपमा पनि ७ रन पाएको थियो । 

नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२–१ ले विजयी भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!