मोरङमा प्रहरी सहायक हवल्दारद्वारा एक भारतीय युवकमाथि छुरा प्रहार

Posted on: 03 Apr, 2024

चैत २१,  काठमाडौँ । मोरङमा नेपाल प्रहरीका सहायक हवल्दारले एकजना भारतीय युवकमाथि छुरा प्रहार गरेका छन् ।  छुरा प्रहारबाट भारतको अररिया जोगवनीका ३१ वर्षीय मोहमद सलमान घाइते भएका छन् । सलमानमाथि मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति ८:५० बजेतिर छुरा प्रहार भएको प्रहरीले जनाएको छ । 

छुरा प्रहारबाट घाँटी, गर्धन र दायाँ हातका ४ वटा औंलामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । 

उनका अनुसार छुरा प्रहार गर्ने सहायक हवल्दार विराटनगर महानगरपालिका–२ घर भएका दुसेन्त राजवंशीलाई छुरासहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी गण रानी विराटनगर दरबन्दी भएका राजवंशी अस्थायी प्रहरी पोस्ट आयल निगममा कार्यरत थिए । 

आफ्नी श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा राजवंशीले भारतीय नागरिक सलमानमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजवंशीकी श्रीमतीको माइती बूढीगंगा हो । प्रहरीका अनुसार श्रीमतीलाई मोटरसाइकलमा राखेर माइती घरतिर लैजाँदै गरेको अवस्थामा भेटेपछि सहायक हवल्दार राजवंशीले सलमानमाथि छुरा प्रहार गरेको प्रहरीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!