क्रिकेटर हार्दिक पाण्ड्यालाई ठगेको आरोपमा सौतेलो भाई वैभव पक्राउ

Posted on: 11 Apr, 2024

चैत २९, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान हुन् । ३० वर्षीय हार्दिकले भारतीय टोलीका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् ।

आईपीएलको जारी संस्करणमा उनको कप्तानीमा मुम्बई इन्डियन्सले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । त्यसैले उनको ब्यापक आलोचना पनि हुँदै आएको छ । अहिले हार्दिक खेलका अतिरिक्त अर्को प्रसंगका कारण पनि चर्चामा आएका छन् ।


खासमा हार्दिक पाण्ड्याले आफ्नो करोडौँ रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले भने हार्दिकलाई ठगी गरेको आरोपमा उनकै सौतेलो भाईलाई पक्राउ गरेपछि उनी चर्चामा आएका छन् ।

हार्दिक पाण्ड्या, उनको भाई कुणाल पाण्ड्या र सौतेलो भाई वैभव पाण्ड्याले मिलेर सन् २०२१ मा पोलिमर ब्यवसायका लागि एउटा कम्पनी स्थापना गरेका थिए । त्यो कम्पनीमा हार्दिक र कुणालको ४०–४० प्रतिशत सेयर रहेको थियो । सौतेलो भाई वैभवको भने कम्पनीमा २० प्रतिशत सेयर थियो ।

कम्पनीबाट प्राप्त हुने मुनाफा पनि सोही अनुरुप बाँट्ने सम्झौता भएको थियो । कम्पनीको रेखदेख वैभवले गर्थे । तर, वैभवले कम्पनीले नाफा कमाएको पैसा हार्दिक र कुणाललाई नदिई छुट्टै कम्पनी स्थापना गरेर त्यो नयाँ कम्पनीको खातामा पठाउने गरेका थिए ।

पटक–पटक मुनाफाको पैसा माग्दा पनि नपाएपछि अन्नतः हार्दिक र कुणाल सौतेलो भाई वैभवविरुद्ध उजुरी लिएर प्रहरी कार्यालयमा पुगेका थिए । वैभवले आफ्नो चार करोड ३० लाख भारतीय रुपैयाँ ठगी गरेको दाबी हार्दिक र कुणाले गरेका थिए । सोही आरोपमा बिहीबार स्थानीय प्रहरीले वैभवलाई प्रक्राउ गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!