गण्डकीमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

Posted on: 11 Apr, 2024

चैत २९, काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर ९ वटा पुर्‍याउने निर्णय गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।


सरकारको चालु खर्च घटाउने र छरितो सरकार बनाउने भन्दै उनले त्यतिबेला मन्त्रालय संख्या घटाएका थिए। पहिलो पटक मुख्यमन्त्री बन्दा अधिकारीले एमालेका ३, माओवादीका २ र राप्रपाका १ जनालाई मन्त्री बनाएका थिए।

त्यतिबेला स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मन्त्री बनेका थिएनन्।

यसपालि भने मुख्यमन्त्री अधिकारीले आफी नियुक्त भएकै दिन चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका थिए। राप्रपा पनि सरकारमा आउने आशा उनले गरेका छन्। आवश्यक परे राप्रपाका २ जना सांसदलाई नै मन्त्री बनाउनुपर्ने भएकाले मन्त्रालय बढाएको सत्तारुढ गठबन्धनले बताएको छ।

गण्डकीमा नेपाली कांग्रेसको २७, एमालेको २२, माओवादीको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङेसहित ६० सांसद छन्।

गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ।

राप्रपाको समर्थनबिना सत्तारुढ गठबन्धन वा कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!