अष्ट्रेलियाली पर्वतारोही एलीद्वारा विनाअक्सिजन अन्नपूर्ण १ को सफल आरोहण

Posted on: 14 Apr, 2024

वैशाख २, काठमाडौँ । अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले विनाअक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण १ को सफल आरोहण गरेकी छन् । पेपरले गाइडद्वय मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ः०७ मिनेटमा अन्नपूर्ण १ हिमालको चुचुरोमा पाइला टेकेको जानकारी दिइन् ।

दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी उनले अन्नपूर्ण १ अघि २ वटा आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण गरेकी थिइन् । उनले अब कञ्चनजङ्घा हिमाल आरोहण गर्ने योजना रहेको बताइन् ।


‘त्यसपछि मकालु हिमाल आरोहण गर्ने लक्ष्य रहेको छ । विस्तारै एकपछि अर्को आठ हजार मिटर अग्लो हिमाल आरोहण गर्दै जाने र आपूmले तोकेको समयभित्र नै १४ वटै हिमालको चुचुरोमा पाइला टेक्ने योजना छ’, पेपरले भनिन् ।

उनी मार्च महिनाको पहिलो हप्ता टीमसहित काठमाडौं आइपुगेकी थिइन् । उनले सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बततर्फबाट विनाअक्सिजन आरोहण गरेकी थिइन् । सन् २०२३ को जुलाई १५ मा विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ मा अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेकी थिइन् ।

हालसम्म ६ जनाले मात्र अक्सिजनविना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!