Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दामनमा हिउँ परेपछि रमाउनेको भीड

२०७३, १९ पुष मंगलवार ०९:०९

नारायण ढुङ्गाना, पुस १९, मकवानपुर । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात् सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरु हिँडेका हुन् । 

राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा छ जना थिए । आज बिहान सूर्योदयका बेला सिमभञ्याङमा उनीहरु हिउँमा रमाउँदै गरेका भेटिए । 

दिना र जीवनसँगै साथीहरु नेपालगन्जका अमृत मल्ल र काभ्रेका दिनेश लामा पनि रमाउँदै थिए । उनलाई सहयोग गर्दै थिए स्थानीयवासी दिवस बस्नेतले । 

“साह्रै रमाइलो भो १” सेल्फी खिच्दै गरेका युगल जोडी दिना र जीवनले भने – “हिउँसँग खेल्दाको आनन्दै बेग्लै ।” उनीहरुले दामनको भ्यूटावरबाट दृश्यावलोकन गरे । हिमालका आकर्षक चुचुराले मन लोभ्यायो । 

सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक दामन र सिमभञ्याङ क्षेत्रले जो कोही पर्यटकलाई लालायित पार्छ । विसं २०६४ पछि राम्ररी हिउँ नपरेको र गत वर्ष पनि अन्तिम फागुनतिर सामान्य हिउँ परेकाले यो वर्ष सुरुवातमै हिउँ पर्दा सङ्केत राम्रै मिलेको छ । 

मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने दामन सिमभञ्याङ समुद्र सतहबाट दुई हजार ४८८ मिटरको उचाइमा पर्छ । गएको यही आइतबार यहाँ यो वर्ष पहिलो पटक हिउँ प¥यो । हल्ला देशभरि फैलिएपछि सोमबारदेखि दामनमा आन्तरिक पर्यटक भरिन थालेका छन् । 

हिउँ परेको थाहा पाएर सोमबार साँझ आकस्मिक निर्णय गर्दै फिल्म निर्माता सुशान्त श्रेष्ठ पनि दामन पुगे । मङ्गलबार बिहान हिउँमा रमाए । सेल्फी लिए । उनलाई साथ दिएका थिए, अर्का फिल्म निर्माता तथा फिल्मी पत्रकार रवि अधिकारीले । 

चितवनबाट दामनमा हिउँ खेल्न पुगेका अधिकारीले भने – “मेरो तीन चार वर्षपछिको अवसर हो । पर्यटकलाई मोहक पार्ने ठाउँमा एक पटक पुग्नै पर्छ ।” 

“सिमभञ्याङमा सिमलका भुवाझैँ झरेका हिउँका कण र सेताम्मे पाखापखेरा, घरहरुले मनमोहक नै पार्छ,” फिल्मकर्मी सुशान्त श्रेष्ठले भने – “फिल्मका दृष्य कैद गर्न पनि दामनले लोभ्याउने गरेको छ ।” 

यसपालि त्यति बाक्लो हिउँ परिसकेको छैन तर डाँडाभरि नै हिउँले ढाकोको छ । न्यू दामन थकाली भान्छाघरकी सञ्चालिका दुर्गा भण्डारी यहाँ भएका १०–१२ वटा होटल भरिभराउ भएको बताउँछिन् । 

हरेक चिसो मौसममा यहाँ हिउँ पर्ने भएकाले आन्तरिक पर्यटक दामन जान समय नै छुट्याएर बस्छन् । मकवानपुरको जिल्ला सदरमुकाम हेटाँैडाबाट करिब ५२ किलोमिटर उत्तरमा यो क्षेत्र पर्छ । काठमाडाँैबाट दक्षिणतर्फ झन्डै ७० किमी छ दामन । 

काठमाडौँ उपत्यकाबाट धेरै पर्यटक दामनमा हिउँ खेल्न आउँछन् । मकवानपुर, चितवनलगायत जिल्लाका आन्तरिक पर्यटकको ध्यानसमेत यसले खिचेको छ । 

हिउँ पर्ने मौसममा हिउँ खेल्न र गर्मी मौसममा शीतलता लिन पर्यटक आउने गरेको थाहा नगरपालिका–८ किटनीका स्थानीयवासी वृद्ध शालिग्राम केसीको भनाइ छ । 

दामन र सिमभञ्याङमा आज बिहानको दृश्य मनमोहक थियो । अघिल्लो रातिदेखि नै यहाँका होटल भरिएका थिए । डाँडा, पाखा, पखेरा हिउँले ढकमक्क थिए । तरकारीको नर्सरीमा प्लास्टिकले ढाकेर सेताम्मे पारेका जस्ता बारीका पाटा हिउँले भरिँदाको दृश्य बयान गर्नै नसकिने किसिमको थियो । रुखका बुट्यान, झारपात, पतिङ्गर, हिउँले ढाकेर सेताम्मे फूल खिले झैँ देखिन्थे । 

पोखरीमा जमेको पानी । पानी माथिपट्टि फुटेर सिसाका तिखा टुक्रा झरे जस्तै पानी जमेको दृश्य, अनि पखेराभरि हिउँले भरिएको दृश्यावलोकनमा पर्यटक लोभिएका थिए । घर, करेसाबारीदेखि सवारी साधनका सिसामा हिउँ भरिँदा साँच्चै नै मन्त्रमुग्ध पार्छ दामनले । 

समूह समूहमा मात्रै हैन प्रेमिल जोडीको आज बिहान यहाँ ठूलै भीड थियो । दिवस बस्नेत यहाँ युवाको आकर्षण भने बढ्दो रहेको बताउँछन् । 

यही मङ्सिरदेखि फागुनसम्म हिउँको मौसम हुन्छ । कुनबेला हिउँ पर्छ थाहै हुँदैन । सेता र राता रङका लालीगुराँस फुल्ने मौसममा समेत पर्यटकले मनोरञ्जन लिन्छन् । भ्यूटावरमा बसेर दृश्यावलोकन गर्नुको मज्जा नै बेग्ले हुने अनुभव छ पर्यटकको । 

सोही क्षेत्रमा रहेको करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा जैविक विविधताले समेत भरिपूर्ण भएकाले यस ठाउँले पर्यटकलाई तान्ने बताउँछन् । 

दामनबाट जति हिमशृङ्खला देखिन्छ त्यति नेपालको कुनै ठाउँबाट पनि नदेखिने उनको भनाइ छ । सगरमाथालगायत आठ हजार मिटरमाथिका आठ वटा हिमाल देखिने उनको दाबी छ । 

हिमशिखर होटलका सञ्चालक पाल्साङ भोम्जनको होटल आज आगन्तुकले भरिएको थियो । दामनदेखि हेटौँडा आउने १०–१५ किमी तलसम्म सडक छेउछाउ हिउँले ढाकेको थियो । 

यो वर्ष अलि छिटो हिउँ परेको उनको अनुभव छ । अघिल्लो वर्ष अलि पछाडि फागुनमा मात्रै त्यही पनि सामान्य हिउँ झरेको थियो । अहिले चाँडै नै परेको स्थानीयवासीले बताए । “चाँडै हिउँ परेको छ, दामनका लागि शुभसङ्केत हो, पर्यटक आउने आशा पलायो” – पाल्साङले भने । 

विसं २०६४ मा झन्डै तीन फिटसम्म हिउँ परेको थियो । त्यसपछि दामन सिमभञ्याङमा राम्ररी हिउँ परेको छैन । 

यो साल शुभसङ्केत देखिएकाले आशा पलाएको छ स्थानीय व्यवसायीमा । “पहिले पहिले सडक विभागले बाटोमा हिउँ पगाल्न नुन छथ्र्यो, डोजर लगाएर हिउँ बढार्नुपथ्र्यो, अहिले हिउँ धेरै कम छ” – स्थानीयवासी शालिग्राम केसीले भने । 

मुख्य गरी क्रिसमस, अङ्ग्रेजी र नेपाली नयाँ वर्ष, विभिन्न मेला तथा बिदाका दिनमा आन्तरिक पर्यटक दामन आउँछन् । यहाँ दुर्लभ प्रजातिको सुनगाभासमेत पाइन्छ । 

करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा यहाँ यति नै पर्यटक आउँछन् भनेर लेखाजोखा नभएको बताउँछन् । यहाँ अहिले एउटा कोठाको एक हजारदेखि दुई हजार २५ सयसम्मका छन् । खाना सादा रु १५० र मासुसहित रु २०० कम्तीमा पर्छ । तर धेरैजसो होटल बाह्य पर्यटक लोभ्याउने खालका नभएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ । 

यस वर्ष रु दुई करोडको बजेट परेकाले पर्यटकीय पूर्वाधार निर्माण गरी व्यवस्थित पार्ने योजना रहेको अध्यक्ष लामाले बताए । दामनलाई जसरी विकास गर्नुपर्ने हो त्यसरी विकास गर्न भने नसकिएको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै