काठमाडौँ | नेपालीहरूको चाडपर्वका बीच पनि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढिरहेको छ। वैदेशिक रोजगार विभागका अनुसार, गत असोजमा ५३,५२५ जना नेपालीले श्रम स्वीकृति लिएर विदेशिएका छन्।
असोजमा सबैभन्दा धेरै नेपालीहरू संयुक्त अरब इमिरेट्सतर्फ गएका छन्, जसको संख्या १७,७२४ रहेको छ। यसैगरी, १०,४६८ जना साउदी अरब, ९,७९८ जना कतार, ३,८०७ जना कुवेत, र १,३१४ जना मलेसिया गएका छन्।
युरोपेली देशहरूतर्फ पनि रोजगारीका लागि जाने नेपालीहरूको चाप बढ्दो छ। रोमानिया, क्रोएसिया, साइप्रस, माल्टा, र पोर्चुगल जानेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
तुलनामा, भदौमा ५७,४९३ जना नेपालीले विदेश यात्रा गरेका थिए, जसले चाडपर्वको समयमा समेत रोजगारीको खोजीमा नेपालीहरूको प्रवृत्ति उच्च रहेको देखाएको छ।
सरकारले विदेश जाने प्रवृत्ति र श्रमिकको सुरक्षा सुनिश्चितताका लागि थप योजना निर्माण गर्ने तयारी गरेको बताएको छ।