काठमाडौँ | देशको वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ ।
भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने भएको छ ।
सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ ।
सबै जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजेदेखि जनसभा सुरु हुनेछ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपा रहेका छन् ।