काठमाडौँ | बिहान ११ बजेका लागि बस्ने भनिएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने भएको छ। संसदमा कुलमान घिसिङ बर्खास्तीको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध जारी राख्ने बताएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो।
विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद सचिवालयले बैठक बस्ने समय परिवर्तन भएको सूचना प्रकाशित गरेको छ।
सूचनामा भनिएको छ- बिहीबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई बर्खास्त गरेपछि विपक्षी दलहरूले सदन र सडकबाट विरोध जनाएका छन्। उनीहरूले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारणको जवाफ प्रधानमन्त्रीसँग माग गरेका छन्।
जवाफ नआएसम्म संसद चल्न नदिने विपक्षी दलहरूको अडान छ। घिसिङ बर्खास्तीको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध जनाएपछि आजको राष्ट्रिय सभा पनि एक घण्टाका लागि स्थगित भएको छ।