काठमाडौँ । चोरी पैठारी गरिएको मोबाइल सामग्रीसहित ८ जना पक्राउ
राजस्व छलीदै चोरी पैठारी गरी ल्याइएका मोबाइल र त्यससँग सम्बन्धित पार्टपुर्जासहित ८ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चावहिलस्थित चःमती क्षेत्रबाट सिकन्दर रजा सहित ८ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले विभिन्न कम्पनीका मोबाइल र पार्टपुर्जा राजस्व तिर्नु नपर्ने गरी चोरी पैठारी गरी काठमाडौँ ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री तथा भण्डारण गर्दै आएको सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको थियो। उक्त सूचनाका आधारमा मंगलबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा झापा निवासी २७ वर्षीय रोशन कुमार महतो र महोत्तरीका २१ वर्षीय सिकन्दर रजा रहेका छन्। बाँकी ६ जना भने भारतीय नागरिक भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोकमा बुझाइएको छ।
प्रहरीले उनीहरूबाट बरामद गरेको सामग्रीमा ४४० थान ब्याट्रीसहितका डिस्प्ले, १४० थान ब्याट्री नभएका डिस्प्ले, रेडमीको एक थान ट्याब्लेट, एप्पलको म्याकबुक, डेल कम्पनीको ल्यापटप, १४ सय थान केबलसहितको चार्जर, ११५० थान ब्याट्री र नगद एक लाख ८ हजार ५ सय रुपैयाँ समावेश छन्।