काठमाडौं । कास्की जिल्लामा आज एक घण्टाभित्र दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान ११:५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर गएको थियो, जसको परिमाण ४.४ म्याग्निच्युड मापन गरिएको छ।
त्यसपछि दोस्रो भूकम्पको धक्का दिउँसो १२:५० बजे अन्नपूर्ण दोस्रो आसपास केन्द्रविन्दु भएर गएको हो। यस भूकम्पको परिमाण ४.१ म्याग्निच्युड मापन गरिएको जनाइएको छ।
भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको भूकम्प केन्द्रले जनाएको छ।
यसअघि, मंगलबार जाजरकोटको रामीडाँडामा पनि ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो। पछिल्ला दिनहरूमा मुलुकका विभिन्न स्थानमा भूकम्पका गतिविधि बढिरहेका छन्, जसले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।