खुकुरी प्रहारबाट दोलखामा एक युवा गम्भिर घाईते, उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

Posted on: 07 Sep, 2017

ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँपालिका –३ लामिडाँडाका ३३ बर्षिय राम ढुङ्गेललाई आज दिउँसो विगु गाउँपालिकाको झोरुङ  खोलामा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते ढुङ्गेलको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत केहि बेरअघि काठमाण्डौं लगिएको छ । घाईतेको टाउकोमा गम्भिर चोट लागेकोले चरिकोटमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको प्रहरीको भनाई छ ।

खुकुरी प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको र पुरानो रिसीविको बारेमा स्पष्ट जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!