२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

साउनयता नौ गैँडाको मृत्यु

२३ पुष २०८२, बुधबार १२:४२

काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उहाँको भनाइ छ ।

पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताउनुभयो । “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उहाँले भन्नुभयो ।

हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन् ।

यसैबीच, नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको सडकमा टायल बिछ्ययाउने काम सुरु गरिएको छ । माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरुप टायल बिछ्याउन थालिएको हो ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार निकुञ्ज क्षेत्रमा टायल बिछ्याउँदा प्रभावकारिता कतिको हुन्छ भन्ने परीक्षणस्वरुप काम सुरु गरिएको हो । नगरपालिकाको रु १० लाख लागतमा सडकमा टायल बिछ्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुआतमा परीक्षणस्वरुप कम क्षेत्रमा काम गर्न लागिएको हो । यो काम सफल भएमा पुनः अन्य क्षेत्रमा विस्तार गरिनेछ ।”

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मगरका अनुसार वन तथा वातावरण मन्त्रालयमा सहमति भएर विभाग हुँदै पत्र आएपछि टायल बिछ्याउने काम सुरु गर्न अनुमति दिइएको हो । उहाँले भन्नुभयो, “सुरुमा ३४ मिटर परीक्षणस्वरुप काम गर्न दिइएको छ ।” यो परीक्षण सफल भएमा निकुञ्जको सडकमा पर्ने देउरालीसम्म नगरपालिकाको बजेटबाट टायल राख्ने काम गर्ने भन्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडकमध्ये अहिले ३४ मिटरमामा टायल बिछ्याइने र अन्य सडकलाई स्तरोन्नति गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुआती समयमा परीक्षणस्वरुप थोरै क्षेत्रमा टायल बिछ्याउन लागिएको छ भने अन्य सडकलाई स्तरोन्नति गर्न सुरु गरिएको छ ।” अहिले टायल लगाउनका लागि आवश्यक संरचना निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

माडीका बासिन्दाले सो सडक कालोपत्र गर्न सरकारलाई दबाब दिँदै आएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति लिनुपर्ने भएपछि विकल्पका रूपमा टायल बिछ्याउने सहमतिअनुसार काम अघि बढाउन लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल