नारायण अधिकारी/कात्तिक २०, चितवन । गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासीको जटायु रेस्टुराँमा लगेर प्रकृतिमा छोड्नका लागि खोरमा राखिएका छ वटा गिद्धलाई यही कात्तिक २३ गते प्रकृतिमा छाडिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्कालगायतको उपस्थितिमा गिद्ध छाडिनेछ । छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको बारेमा अनुसन्धानका लागि नेपाल पक्षी संरक्षण संघ र निकुञ्ज विभागका प्राविधिकले गत एक सातादेखि काम गरिरहेका छन् ।

नेपाल पक्षी संरक्षण संघ गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुषालका अनुसार खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ । सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठीक अवस्थामा रहेको उहाँले बताउनुभयो ।

जटायु रेष्टुटाँमा प्रकृतिमा रहेका छवटा गिद्धलाई समाएर सेटलाइट ट्याग लगाएर छाडिएका थिए । तीनको आनीबानी नियमित रुपमा अनुगमन भइरहेको छ । भुषालका अनुसार ती गिद्ध पश्चिम नेपालको बाँके क्षेत्रसम्म पुगेको देखिएको छ । नवलपरासीको जटायु रेस्टुराँबाट दुई सय किलोमिटर पश्चिमसम्म पुगेका गिद्ध पुनः फर्किएर रेस्टुराँमै आएको उहाँले बताउनुभयो ।

प्रकृतिमा छाडिएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आएको छ । जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुराँमा गरिएको छ ।

उनीहरुलेसँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । तिनीहरुलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा रहेका पाँचवटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम रहेको छ । हाल खोरमा ५७ वटा गिद्ध रहेका छन् ।

अति संकटापन्न अवस्थामा रहेको डंङ्गुर जातको गिद्धको संख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो ।

सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो ।

सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत वैशाखमा जटायु रेस्टुराँमा छाड्नका लागि खोरमा लगेर राखिएको थियो ।

सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चार÷चारवटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालिएको हो ।

मुख्य रुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो ।

त्यस्ता मासु खाँदा गिद्धको मिर्गाैलामा खराबी हुने र गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो । त्यसपछि डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ । नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलोपटक जटायु रेस्टुराँ सञ्चालनमा ल्याइएको हो ।

हाल देशभरमा सात ठाउँमा यस्ता रेस्टुराँ शुरु गरिएको छ । जटायु रेस्टुरा गिद्ध संरक्षण केन्द्र हो । जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाय किनेर राख्ने गर्दछ । जटायु रेस्टुराँ व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको रु २५० मा रेस्टुराँले किन्ने गर्दछ । ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ । रासस

November 6, 2017
चितवन - CTW, समाज
संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै
By kit
7 मिनेट पढाइ