२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी जाम र साँगुरा पुलः ज्यान जोगाउन हम्मे: काठमाडौँ

२०७४, ३० पुष आईतवार ११:१२


पुस ३०, काठमाडौँ  |  पूर्वाधार विकासका आयोजना तयार पार्दा दीर्घकालीन आवश्यकता र परिपूर्तिको सामञ्जस्यतामा ध्यान पु¥याउन नसक्दा राजधानीका सर्वसाधारणलाई ज्यान जोगाउन मुश्किल पर्ने गरेको छ । 

सडकमा बाटो काट्दा होस् या पुल तर्दा नै किन नहोस् सर्वसाधारणले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक फराकिलो भए पनि पैदलमार्ग छैन । भएका स्थानसमेत अतिक्रमित छन् । वर्षौंदेखि निर्माण सम्पन्न नहुँदा यत्रतत्र छरिएका निर्माण सामग्रीलाई छल्दै यात्रा गर्नुपर्ने नियति बनेको छ । 

काठमाडौँ उपत्यकाका मोटर चल्ने पुलको हालत उस्तै छ । पुल छ, पैदलमार्ग छैन । सडक फराकिलो छ तर पुल साँघुरा छन् । यो समस्या झेल्दै आउनुभएका बालाजु निवासी शंकर शर्मा भन्नुहुन्छ, “काठमाडौँको सडक र पुलमा हिँड्दा मुटु ठेगानमा नरहला जस्तो हुन्छ ।” 


पुल बन्यो ‘बोटलनेक’ 

अधिकांश स्थानमा सवारी जाम हुनाको पछाडि पुलमा रहेको ‘बोटलनेक’ नै प्रमुख कारण हो । सडक फराकिला भए पनि पुल निर्माणमा ध्यान दिन नसक्दा आसपासका स्थानमा बढी सवारी साधनको लाम लाग्ने गरेको छ । 

काठमाडौँका बिजुलीबजार, बानेश्वर र तीनकुने खण्डको जामका कारण पनि पुल नै बनेको छ । यस्तै कालीमाटी परोपकार क्षेत्रमा समेत सवारी लाम लाग्नाको पछाडि पुल नै कारक हो । बालाजु र नयाँ बजार जोड्ने पुल पनि उस्तै सवारी साधन जामको कारण बनिरहेको छ । 

यस्तै बालाजु बाइपासबाट तारकेश्वर नगरपालिका छिर्ने पुलमा होस् वा सिंहदरबार हनुमानस्थानपूर्वको पुल, बिदाको दिन पनि पैदलयात्रीलाई समस्यामा पार्ने गरी जाम हुने गरेको छ । यी पुलमा पैदलमार्ग छैनन् । त्यस्तै गौरीघाट क्षेत्रमा बनेका पुल ‘सिंगल लेन’ हुँदा जामको त कुरै छाडौँ, सवारी साधनलाई समेत लामो समय पालो कुर्नुपर्ने बाध्यता छ । पैदलयात्री वैकल्पिक मार्ग खोज्न बाध्य हुनुपर्छ तर विकल्प भने छैन । 

सडक विस्तार प्रक्रिया शुरु भएसँगै पुल निर्माणमा ध्यान दिनुपर्ने भए पनि बजेटको अभाव र निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या खडा भएको हो । निर्माण व्यवसायीले समयमा काम नगर्दा तीनकुने, बिजुलीबजार, कालीमाटी परोपकार र बालाजु पुल निर्माणमा लामो समय लागेको छ । बिजुलीबजार पुलबाहेक अरु पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ । 

सडक विभाग, पुल महाशाखाका अनुसार तीनकुने पुल रु १२ करोड तथा कालीमाटी परोपकार र बालाजु पुल रु छ छ करोडमा ठेक्का दिइएको छ । गत आवमा नै निर्माण हुनुपर्ने तीनकुने र परोपकार कालीमाटीको पुल हालसम्म ३० प्रतिशतको हाराहारीमा मात्रै सम्पन्न भएको छ । बालाजु– नयाँ बजार जोड्ने पुलको त कामसमेत शुरु भएको छैन । बबरमहल र बिजुलीबजारका पुल निर्माण जारी रहे पनि तोकिएको समयमा पूरा हुने छाँट छैन । 

पुलमा नै अत्यधिक सवारी साधनको लाम लाग्दा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा समस्या खडा भएको छ जसका कारण यात्रु मारमा पर्नाका साथै उपत्यकाका मुख्य सडक अस्तव्यस्त हुने गरेको छ । 


४५ पुल महानगरको जिम्मा 

पुल महाशाखाले काठमाडौँ महानगरपालिकाका ४५ पुलको व्यवस्थापन र मर्मतसम्भारको जिम्मा कामपालाई दिन लागेको छ । महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनजंग थापाले स्थानीय सरकारलाई अधिकार हस्तान्तरण गर्ने केन्द्रीय सरकारको नीतिअनुसार सडक विभागले हेर्दै आएका पुललाई स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको जानकारी दिनुभयो । सडक विभागअन्तर्गत उपत्यकामा मोटर चल्ने ४८ पुल छन् । 


पुलको तथ्यांक छैन 

उपत्यकामा बनेका पुराना पुलको कुनै पनि तथ्यांक नभएका कारण मर्मतसम्भारमा समस्या खडा भएको छ । “पहिले कुन प्रविधिबाट कसरी बनाइयो भन्ने तथ्यांक छैन”, विभागका सिनियर डिभिजनल इन्जिनीयर नरेशमान शाक्यले भन्नुभयो । 

तथ्यांकका अभावमा पुलको आयु कति हो र मर्मतसम्भार कसरी गर्नुपर्ने हो भन्ने पत्ता लगाउन समस्या खडा भएको उहाँको भनाइ छ । 


पैदलमार्ग अभाव 

सर्वसाधारणले पुल तर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता छ । राजधानीका अधिकांश पुलमा पैदलमार्ग छैनन् । यसबाट नागरिकलाई पुल तर्दा सधैँ सास्ती भोग्नुपर्छ । 

गौरीघाट क्षेत्रमा बनेका पुल, शोभा भगवती र हनुमानस्थान पूर्वको पुल, नरदेवी र डल्लु जोड्ने पुलमा पैदलमार्ग नहुँदा राजधानीवासीलाई तर्न समस्या पर्ने गरेको छ । 

सडक पार गर्दा सबैभन्दा बढी जोखिम पैदलयात्रीलाई जेब्रा क्रसिङमा भए जस्तै पुल तर्दा पनि नागरिकलाई जोखिम हुने गरेकोे पुल महाशाखाको अध्ययनले देखाएको छ । 


अदूरदृष्टिका कारण समस्या 

अर्थ सचिव शंकरप्रसाद अधिकारी आयोजना छनोटमा दीर्घकालीन दृष्टिकोण नभएका कारण विकास निर्माण र आवश्यकताको सामञ्जस्यता हुन नसकेको बताउनुहुन्छ । उहाँका अनुसार जनसंख्या र ट्राफिक बढ्छ भन्ने दीर्घकालीन सोच नभएका कारण उपत्यकाको सडक जनमैत्री भएन । 

“बजेटको विनियोजन गर्दा धेरै ठाउँमा छर्नुपर्ने बाध्यताले ठूला र चौडा पुल बनाउन सकिएन । प्राथमिकताका आधारमा भन्दा पनि राजनीतिक दवावका कारण आयोजना तय भए । यो अस्वस्थ प्रवृत्ति भ्रष्टाचारभन्दा पनि खराब हुँदै गयो, जसका कारण बजेट विनियोजन दक्षता भएन र समस्या बढी नै रह्यो”, उहाँले भन्नुभयो । 

अर्थसचिव अधिकारीले उच्चस्तरको राजनीतिक प्रतिबद्धतासहित निश्चित अनुशासनभित्र रहेर आवश्यकताका आधारमा आयोजना छनोट गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आयोजना छनोट तथा स्रोतको परिचालन प्राविधिक प्रक्रिया हो, यसलाई बुझ्नुपर्छ ।” (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता