पढ्न करिब 3 मिनेट लाग्छ

भोजराज कार्की/माघ ६, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । अहिले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ ।

शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ ।” उक्त गाउँमा हरेक घरमा सुँगुर र कुखुरापालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको हो ।

बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको छ । पूरै टोलमा भाइरल फैलिएपछि स्थानीय नागरिकमा त्रास उत्पन्न भएको छ ।

पेल्माङमा फैलिएको भाइरल पत्ता लगाउन शुक्रबार नै नमूना संकलन गरिएको छ । आज नै काठमाडौँ पु¥याएर प्रयोगशाला जाँच गरेपछि भाइरसबारे पत्ता लाग्ने र स्वायनफ्लु भए÷नभएकोबारे यकीन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

मंगलबारदेखि शुक्रबारसम्मका लागि बन्द पेल्माङ आधारभूत विद्यालय आइतबारदेखि सञ्चालन गर्ने÷नगर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा भाइरल प्रकोप फैलिएपछि विद्यार्थीको पढाइमा असर पुगेकाले कसरी अतिरिक्त कक्षा सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्नेछौँ ।”

महाकुलुङमा फैलिएको भाइरलका कारण यसअघि नै दुई जनाको मृत्यु भइसकेको छ । अहिले भाइरलको प्रकोप सामान्य रुपमा नियन्त्रण हँुदै गएकाले नआत्तिन चिकित्सकले आग्रह गरेका छन् ।

स्वास्थ्य संस्थामा प्रसूति गराए रु पाँच हजार

मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएवापत गाउँपालिकाले थप प्रोत्साहन भत्ता दिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने भएको हो ।

गाउँपालिकाको प्रथम गाउँसभाले सो निर्णय गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । गाउँपालिका– ३ पञ्चनबाट सो सेवा शुरु गरिएको छ ।

गर्भवती र नवजात शिशुको जीवनरक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भएकाले घरैमा प्रसूति गराउने प्रथा अन्त्य गर्न गाउँपालिकाले सो काम शुरु गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा प्रसूति गराएको रिपोर्ट पेश गर्ने हरेक आमाले गाउँपालिकाको तर्फबाट रु पाँच हजार पाउँछन्, यो सुविधा प्रदान गर्ने जिल्लाको पहिलो गाउँपालिका हो ।”

साविक सात गाविस मिलाएर बनाइएको सो गाउँपालिकामा नौ वटा वडा तथा १९ हजार ६७२ जनसंख्या छ । भौगोलिक विकटता रहेको सो गाउँपालिकाका वडा नं ४, ५ र ९ मा सडक सञ्जाल जोडिएको भए पनि जीप सेवासमेत सञ्चालन हुन सकेको छैन ।

स्थानीयवासीले खोटाङको एँेसेलुखर्क हुँदै ट्र्याक्टरमार्फत सामान ढुवानी गरे पनि सदरमुकाम सल्लेरीलगायत अन्य स्थानमा जानका लागि करिब चार घण्टासम्मको पैदल हिँड्नुपर्ने बाध्यता छ ।

आकस्मिक बिरामी भएमा साविक जोखिम र जुबुका बासिन्दाले हेलिकप्टरकै प्रयोग गर्छन् । कतिपयले खर्च अभावकै कारण घरैमा प्रसूति गराउने हुँदा अकालमै आमा र शिशुको ज्यान जाने गरेकाले गाउँपालिकाले प्रोत्साहन भत्ता प्रदान गरेको अध्यक्ष राईको भनाइ छ । रासस