माघ १५, काठमाडौँ । काठमाडौंको मच्छेबहालमा गए राती एक जना सुरक्षागार्डको खुकुरी प्रहार गरी हत्या भएको छ ।
दोलखा मावापौवा २ स्थायी घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको हो। उनी इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए। तामाङ ड्युटीमै रहेका बेला उनको हत्या भएको प्रहरीले जनाएको छ।
इन्द्रचोक सडकखण्डमा पर्ने मच्छेबहालमा राती करिब १ बजे तामाङ अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्याएको थियो। उपचारको क्रममा पौने २ बजे तामाङको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।
तामाङको टाउको र हिपमा धारिलो हतियारले काटेको गहिरो चोट छ। अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। तर हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।