कविता उपाध्याय / फागुन १०, रोल्पा | साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ ।
टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकले क्षयरोग लागेको हुनसक्ने भनेपछि उहाँ थप चिन्तित बन्नुभएको छ ।
यसरी बिरामी परेका सुनारको स्वास्थ्यमा समस्या बढेसँगै पेशा नै रोकिने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोल्न थालेको छ । “कोइला पोल्न जानुपर्छ, फलाम चाहिन्छ । खुकरी बनाउने पेशा सजिलो छैन । तर रोजीरोटीका लागि यही पेशा नगरी सुख छैन,” उहाँले भन्नुभयो ।
सुनारका क्रमशः २२ वर्ष, १९ वर्ष, १६ वर्ष, ११, वर्ष, ९ वर्ष र ८ वर्षका गरी ६ सन्तान छन् जसमध्ये माथिका दुई छोरी र एक छोराले १४÷१५ वर्षकै उमेरमा प्रेम विवाह गरेर हिँडिसकेका छन् भने दुई छोरी १५÷१६ वर्षकै उमेरमा आमा बनिसकेका छन् ।
आफूले सानैमा आमाबाबुको मृत्यु भएका कारण पढ्न नपाए पनि छोराछोरीलाई ऋण काडेरै भए पनि पढाउने उहाँको तीव्र चाहना थियो । तर छोराछोरी बिहे गर्दै जाँदै गर्नुले उहाँको सपना साकार हुन सकिरहेको छैन । जिल्लामा बालविवाह अन्त्यका लागि अभियान चले पनि यस्ले कुनै असर नपारेको उहाँको गुनासो छ । हाल घरमा भएका सन्तानले पनि यसैगरी पढाइ छोडेर बिहे गर्लान् कि भन्ने चिन्ताले उहाँलाई दिनरात पिरोल्न थालेको छ । “यिनै छोराछोरी पढाएर आँखा देखाउन पाए बूढेसकालमा सहारा बन्लान् भन्ने लागेको तर फटाफट पोइल हिँडेर सकिन लागे,” उहाँले दिक्क मान्दै भन्नुभयो । रासस