२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी

२५ फाल्गुन २०७४, शुक्रबार ०५:४६

– कविता उपाध्याय | फागुन २५. लिबाङ (रासस) | रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो। 

ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी नातिनी काखमा च्यापेर न्यायको ढोका ढक्ढकाउन प्रहरी कार्यालय, रोल्पामा आइपुग्नु भएको थियो । वृद्ध आमाको बिलौना सुन्दा वरपर उभिएका सबैका आँखा रसाएका थिए । 

“तीन भाइ छोरा थिए सबै मरेर सकिए । करिब तीन वर्ष पहिले श्रीमान्ले पनि छोडेर गए । भएकी यौटी छोरीको पनि जिन्दगी सुखद् हुन सकेन, कस्को सहारामा बाँचुँ” भन्दै वृद्ध आमा निकै भक्कानिनुभयो । 

“छोरीको पहिलो घर बनेन । पहिलो ज्वाइँले सौता हालेपछि पहिलो श्रीमान् र चार सन्तान छोडेर छोरी माइतीमै बसेकी थिइ । करिब तीन वर्ष पहिले दोस्रो विवाह गरी । दोस्रो ज्वाइँले पनि सौता हाले र विदेशीए । दोस्रो ज्वाइँबाट एक वर्षकी नातिनी छे । उनले पनि निकै दुःख दिएका छन् । यो छोरीको चिन्ताले मर्ने बेला दुःखी बनेकी छु । म मरे यस्को संरक्षण कस्ले गर्ला, कहाँ जाली, के खाली ? लौ हजुर छोरीलाई न्याय दिनुप¥यो ।” उहाँले निकै बिलौना गर्नुभयो । 

पीडित महिलाका अनुसार उहाँको पहिलो विवाह सफल हुन नसकेका कारण तीन वर्ष पहिले इँटाभट्टामा काम गर्न गएका बेला दोस्रो विवाह गर्नुभएको थियो । बिहेपछि करिब सात महिना सँगै बसेर दुःखसुख गरेका श्रीमान् विदेशिएको केही समयपछि दोस्रो विवाह गरेको खबर आयो । 

“श्रीमान् धन कमाएर घर फर्केलान् र सुखसँग जीवन काटौँला भन्ने आशा थियो, तर सौता हालेछन् । त्यसपछिका दिनमा फोन उठाउनै छाडे । मेरो वास्ता गरेनन् । यो छोरी जन्मिएपछि जेठाजुले फोनबाट छोडपत्र गराउने भनेका छन् भन्दै देउरानीले गाउँले भेला गरेर श्रीमान् विदेश भएकै बेला हाम्रो सम्बन्धबिच्छेद भएको कागज गराई । पैसा दिएर मलाई छुटाउने भनेर निर्णय गरेजस्तो लाग्छ । तर मैले आजसम्म एक सुक्को पाएकी छैन,” उनी भन्छिन् । 

“कागज त गरेका छन् तर कागजमा के लेखेको छ त्यो पनि मलाई थाहा छैन । बरु मेरा माइतीले दिएको रु दुई लाख श्रीमान्ले हिनामिना पारे, त्यसको हिसाबकिताब पनि मलाई दिएका छैनन् । म अन्यायमा परेकी छु न्याय पाइन्छ कि भनेर प्रहरीमा आएकी हुँ । प्रहरीमा आउँदा सम्म श्रीमान् सकारात्मक देखिन्छन् तर गाउँ फर्किएपछि उनको उही चाला हुन्छ । आउन जान गाडी भाडा नभएर हैरान हुन्छ । आज त जसरी पनि न्याय दिनुस् । म अन्यायमा परेँ” आँशु बगाउँदै उनले बिलौना गरिन् । 

दिन फेरिए, विधि विधान फेरिदै गएका छन् तर पनि रोल्पाका केही महिलाको अवस्थामा भने कुनै परिवर्तन आउन सकिरहेको छैन । 

समाजसेवी खडकबहादुर खत्री ‘तोराबोरा’ का अनुसार यस घटनामा श्रीमान् विदेश भएको बेला श्रीमतीको मञ्जुरी बिना देउरानीले छुटापत्र गराएको बुझिएको छ, यसो हुनु राम्रो होइन । “दुवैको सहमति भएमा कानूनी प्रक्रियाअनुसार अदालत जानुपथ्र्याे । यो गैरकानूनी भयो । यौटी महिला अर्की महिलामाथि जाइलाग्नु दुःखद् पक्ष हो,” उहाँको भनाइ छ । 

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार यही विषय लिएर पीडित महिला पटकपटक प्रहरीमा आएकी छन् । श्रीमान् बाहिर भएका बेला देउरानीसहित आफन्तले अवैधानिक रुपबाट सम्बन्धबिच्छेद गराएको खुल्न आएको उहाँको भनाइ छ । 

प्रनाउ फुयालका अनुसार रु दुई लाख २५ हजार दिएर सम्बन्धबिच्छेदको कागज गराएको देखिन्छ, तर पीडितको हातमा कुनै किसिमको रकम परेको छैन । सम्बन्धबिच्छेद गराए पनि अदालती प्रक्रियाबाट दुवैको मञ्जुरीमा हुनुपर्नेमा यसो हुन सकेन । अर्काेतर्फ पीडितको दुई श्रीमान् भएको भए पनि दुवैसँग विवाह दर्ता पनि छैन र बच्चाको जन्म दर्ता पनि छैन । 

आवश्यक कागजात भए काम गर्न अझ सहज हुने उहाँको भनाइ छ । उहाँका अनुसार पीडकलाई हिजोदेखि प्रहरी हिरासतमा राखिएको छ । घटनाका सम्बन्धित सबैलाई छानबिन र थप अनुसन्धानका लागि आज जिप्रका रोल्पामा बोलाइएको छ । 

पीडित आफैँले यसपछि के गर्ने भन्ने विषयमा निर्णय लिन नसक्दा प्रहरीलाई न्याय सम्पादनमा चुनौती हुने गरेको उहाँले गुनासो गर्नुभयो । महिला दिवसका दिनमात्र प्रहरी कार्यालय रोल्पामा तीनवटा महिला हिंसाका घटना आएको पनि प्रनाउ फँुयालले जानकारी दिनुभयो । 

जिप्रका रोल्पाअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पामा यस आवमा मात्र सबैभन्दा बढी महिला हिंसाका घटना दर्ता भएका छन् जसअन्तर्गत कूल ७३ वटा घटना दर्ता भएकोमा ती मध्ये पाँचवटा घटना सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत रोल्पामा पठाइएको प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो । 

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार यस आवमा मात्र महिला तथा बालबालिका कार्यालय रोल्पामा १९ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । 

यस्तै, रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीमगरका अनुसार १२ वटा महिला हिंसाका घटना दर्ता भएकोमा आठवटा फैसला भइसकेका छन् भने अन्य फैसला हुन बाँकी छन् । महिला आर्थिक, राजनीतिक र सामाजिक रुपमा अगाडि बढ्न नसकेको हुँदा हिंसाको शिकार बन्नु परेको उहाँको भनाइ छ । 

कार्यालयमा दर्ता भएकाभन्दा बढी घरेलु हिंसाका घटना मौखिकरुपमा मिलाएर पठाउने गरिएको छ । केही घटना बाहिरी रुपमा मिलेर गए पनि मनैदेखि मिल्न नसक्दा सम्वन्धमा समस्या आउने गरेको अधिकारकर्मी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य