पढ्न करिब 1 मिनेट लाग्छ

साउन ६, लमजुङ | मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ ।

नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो । नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङअन्तर्गत नदी वरपरका बस्तीलाई शनिबार साँझ प्रशासनले विभिन्न सूचना संयन्त्र प्रयोग गरी सर्वसाधारणलाई जानकारी गराएको छ ।

माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दीमा खतरा रहेको कतिपयको बुझाइ छ । यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ । “केही दिनयता पानीको बहाव अत्याधिक भएको छ” प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भन्नुभयो, “सम्भावित खतराबाट बच्नका लागि सतर्क रहन आग्रह गरेका छौँ ।”

स्थानीयवासीका अनुसार मस्र्याङ्दीमा पानीको बहाव अहिलेसम्मकै उच्च हो । पानीको बहावले सदरमुकाम चामेस्थित तातोपानी कुण्डको बाँधसमेत भत्काइदिएको छ । मनाङका चामे, धारापानी र ताल तथा लमजुङका श्रीचौर, स्यागे, भुलभुले, खुदीलगायत बस्ती नदी नजीकै भएकाले सम्भावित जोखिम मानिएको छ । सम्भावित जोखिमबाट बच्न दुवै जिल्लाका प्रशासन कार्यालयले विभिन्न संयन्त्रको प्रयोग गरी सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । रासस