साउन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन्।
महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरूले यस विषयमा गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यालयहरूमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताएका छन्।
‘के कारणले बेरुजु भएको हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानूनी कारबाही गर्नुपर्दछ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताएका छन्।
बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन’, प्रधानमन्त्री ओलीले भने, ‘तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।’
बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४/०७५मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए।