असोज १८, काठमाडौं । सार्वजनिक लेखा समितिले सरकारलाई चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको छ। बिहीबार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले यस्तो निर्देशन दिइएको हो।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । समितिले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी ओली र चिनी उद्योगीबीच केही समय अघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई कडा निर्देशन दिएको हो ।
समितिले उखु किसानको बक्यौता रकम १५ दिनभित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ । समितिले चिनीलगायतका चाडपर्वका बेला अति आवश्यकीय वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको पनि समितिका सभापति समितिका भरतकुमार शाहले जानकारी दिए ।
बैठकले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिका सम्बन्धमा छानबिन गरी समस्या समाधानका लागि सरकारलाई आवश्यक निर्देशन दिन उपसमिति पनि गठन गरेको छ । सरकारलाई मूल्य वृद्धिका सन्दर्भका आवश्यक निर्देशन दिने गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरिएको पनि सभापति शाहले जानकारी दिए ।