2026-11-01 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दनुवार जातिको रामदल नृत्य सङ्कटमा

 पुस १७, गाइघाट हरिकुमार राई  (रासस) : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको चुहाडे राजाबास, कटारीको रिस्कु, उदयपुर गढीक्षेत्रको दनुवार बेसी क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाका पुरानो आदिवासी दनुवार जातिको सांस्कृतिक पहिचान झल्काउने रामदल नृत्य हिजोआज सङ्कटमा पर्न थालेको छ । 

विशेषगरी युवायुवतीले खेतीपाती गर्ने समयमा र वनजङ्गल दाउराघाँस गर्दा दनुवार जातिको वेषभूषामा रहेर सामूहिकरूपमा गीत गाउने र नाच्ने रामदल नृत्य दनुवार जातिलाई चिनाउने पहिचानमूलक संस्कृति हो । हिजोआज युवायुवतीले कृषि पेशा छाडेर अन्य पेशामा लागेका तथा अन्य गीतसङ्गीतको प्रभावका कारण यो संस्कृति लोप हुँदै सङ्कटमा पर्न थालेको नगरपालिका–७ गैरुनका ७० वर्षीय लालबहादुर दनुवार बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “खास गरेर धान रोप्ने, मकै छर्ने, गोड्ने बेलादेखि विभिन्न मेलापात दाउराघाँसमा समेत दनुवार युवायुवती आफ्नो जातीय वेषभूषामा रहेर गाइने र नृत्य गरिने यो नृत्य हिजोआज युवायुवतीका कारण नै चट्टै बिर्सिँदै गएको छ, अहिले कहीँकतै पनि दनुवार बसोबास क्षेत्रमा रामदल नृत्य देख्न र सुन्न पाउन छाडियो ।” 

यस्तै कटारी रिस्कुका ७४ वर्षीय ज्ञानबहादुर दनुवार भन्नुहुन्छ, “बाह्र, पन्ध्र वर्ष अघिसम्म पनि गाउँघर खेतबारी मेलापातमा समेत रामदल गीत, नृत्य, घन्कने गर्दथ्यो, रामदल नृत्य देख्न पाइन्थ्यो, अहिलेको युवायुवती अब कृषि पेशाबाट पलायन हुँदै अन्य गीत सङ्गीतको समेत प्रभाव पारेपछि यो नृत्य हराउँदै गयो, यो हाम्रो संस्कृति अहिले सङ्कटमा रहेको देख्छु ।” 

ज्ञानबहादुरका अनुसार अहिलेको दनुवार पुस्ताले नै यसको संरक्षणमा जोड दिनुपर्ने भए पनि युवापुस्ताले रामदल नृत्य बिर्सिन थालेका छन् । 

पुरुष युवाले कछाड, दौरा, इस्टकोट र टोपी तथा महिलाले गुन्यू, चौबन्दी र दनुवार जातिका गरगहना लगाएर मायाप्रीति, दुःखसुखका गीतमा सामूहिक गायन र नृत्य गर्ने रामदल नाचले दनुवार जातिको रहनसहन र खानपान तथा गाउँघरका संस्कृति झल्काउने गरेको राजाबासका समाजसेवी युवा केदार दनुवारको भनाइ छ । 

अहिलेसम्म पनि यसको उचित संरक्षण अनुसन्धानमा राज्यको समेत ध्यान नगएको र दनुवार समुदायको पनि खासै पहल हुन नसकेको तथा स्थानीय सरकारले समेत यसतर्फ उचित ध्यान दिन नसकेको उहाँको गुनासो छ । 

दनुवार जातिको रामदल नृत्यको संरक्षण र महत्वबारे भाषाविद् तथा संस्कृतिविद् डा कैलाशकुमार राई भन्नुहुन्छ, “थोरै सङ्ख्यामा र लोपोन्मुख अवस्थामा रहेको दनुवार जाति र उसको भाषा संस्कृति संरक्षण गर्नसके देशको पनि सांस्कृतिक विकास हुन्छ, त्यसैले यसको संरक्षणमा अब स्थानीय सरकारले उचित ध्यान दिनुपर्छ, बौद्धिक समुदायले पनि यसको उचित खोज र अनुसन्धान गरेर संरक्षणमा मद्दत पुर्याउन आवश्यक छ ।” 

उदयपुरमा लामो समयदेखि राई दनुवार, कछाडिया, अधिकारी, सुसिया, फनेर, कचा, रावत, कचरिया, राजन, राय, गोराइत, नामपुच्छ्रे, डोनेजस्ता जातिका दनुवार बसोबास गर्दै आएका छन् । उनीहरूको पनि गोत्र र थर तथा वंशानुगत हाँगा छुट्याएर विवाहवारी नाता कुटुम्ब बनाउने गरेको उदयपुर चुहाडेका मानबहादुर दनुवार बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द