२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्लाष्टिक नाइँ भन्नु ल !

१८ पुष २०७५, बुधबार ०७:०१

पुस १८, चितवन | के तपाईँ चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य बस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाइँ भन्नु ल ! भनी सिकाइएको छ । 

ती सुरक्षाकर्मीले तपाईँले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईँले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाइँ भन्नु ल !’ त्यही झोलामा तपाईँका सामग्री रहने छन् । तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर लान पाइने छ । 

फर्कँदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ । अन्यथा तपाईँ कारबाहीमा पर्नुहुने छ । पहिलो चरणमा झोलाबाट सुरुवात गरिएको यो अभियान क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले मङ्गलबार बृहत् कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र अभियानको शुभारम्भ गरेको छ । जनप्रतिनिधि, कर्मचारी, सरोकालवाला निकायलगायतको सहभागितामा निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । सहभागीले निकुञ्जको यस अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । 

त्यस अवसरमा प्रदेश नं ३ को वातावरण समितिका सभापति रमा आलेमगरले प्लाष्टिकलाई पुनः प्रयोग गर्न र अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभयो । तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिकमुक्त प्रदेश बनाउन र १० वर्षभित्र इन्धनबाट चल्ने गाडी निषेध गर्न लागेको भन्दै उहाँले यस्ता अभियान सफल पार्न सबैले साथ र सहयोग पु¥याउनुपर्ने बताउनुभयो । 

प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल र रामलाल महतोले निकुञ्जभित्र प्रदूषण कम गर्न निकुञ्जसँग जोडिएका क्षेत्रमा प्लाष्टिकको प्रयोगमा कमी ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का र वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले अभियान सफल पार्न मध्यवर्तीका बासिन्दाको सहयोग आवश्यकपर्ने बताउनुभयो । 

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गर्नुभयो । 

निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउजस्ता खोलाबाट वर्षाको समयमा बगेर आउने प्लाष्टिक तत्काल सफा गरिने भएको छ । निकुञ्जकका कर्मचारी, वाह्य पर्यटक र निकुञ्जको बाटो भएर जाने यात्रुबाट प्लाष्टिक सङ्कलन हुने गर्दछ । निकुञ्जमा रहेका वन्यजन्तुले ती प्लाष्टिक खाएर मृत्युसमेत हुने गरेको छ भने वर्षाँैसम्म नसड्ने हुँदा वातावरणीय सन्तुलनमा खलल ल्याउने बताइन्छ । 

त्यस अवसरमा आफ्नो प्रस्तुतीकरण गर्दै हिमालयन क्लाइमेटका प्रमुख कार्यकारी अधिकृत सिलसिला आचार्यले विगत ७० वर्षदेखि नेपालमा प्लाष्टिक प्रयोग हुन थालेको भन्दै यसले दीर्घकालीन असर पार्ने बताउनुभयो । दैनिक दुई करोड प्लाष्टिकका झोला नेपालमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । यी झोला पेट्रोलियम उत्पादन भएकाले जलवायु परिवर्तनमा नकारात्मक असर पर्छ । 

प्लाष्टिककै कारणले प्रत्येक वर्ष विश्वमा एक लाखभन्दा बढी जलचर मर्ने गरेको भन्दै उहाँले आगामी १२ वर्षभित्र प्लाष्टिक व्यवस्थापन गर्न नसके जलवायु परिवर्तनमा ठूलो असर पर्ने बताउनुभयो । विश्वका ५० देशले प्लाष्टिकका झोला प्रतिबन्ध लगाएको पनि उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुसहितको बासस्थान हो । विसं २०३० असोज ४ गते स्थापना भएको सो निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ । यो देशका पाँच जिल्लामा पर्दछ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो ।  

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो