पर्वतमा ६०औं प्रहरी दिवस मनाईयो

Posted on: 17 Oct, 2015

असोज ३०, पर्बत । पर्वतमा नेपाल प्रहरीले सामान्य रुपमा ६० औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको हाताभित्र शनिवार एक औपचारिक कार्यक्रमका विच प्रहरी दिवस मनाइएको हो ।

parhari diwas

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, केही संचारकर्मीहरु, अमर प्रहरीका केही सदस्यहरु, पुर्व प्रहरी संगठनका प्रतिनिधिको सहभागीता थियो भने सरोकारवाला संस्थाहरुमा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा र उवासंघ पर्वतका अध्यक्षको सहभागीता थियो । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि साथै अन्य सामाजिक संघसंस्थाहरुको खासै उपस्थिति थिएन ।

प्रहरी दिवसलाई भव्य रुपमा नगरी सामान्य तवरबाट मनाईनुको कारणमा कैलाली घटनामा वरिष्ठ प्रहरी अधिकृतको दुःखद निधन र मुलुकको विषम परिस्थिति भएको बताईएको छ । प्रहरी दिवसको अवसरमा मुलुक र जनताका लागि प्राणको आहुति दिने अमर प्रहरीको शालिकमा फूल र माला चढाईएको थियो । माल्यार्पण गर्नेमा अमर परिवारका जम्मा दुई सदस्यहरु थिए ।

प्रहरी दिवसमा प्रमुख अतिथि रहेका प्रजिअ झंकनाथ ढकालले प्रहरीलाई समुदायमा पुराउन गाउँका नागरिकलाई विना बर्दीको प्रहरी बनाउनुपर्ने र सोही अनुसार कार्यक्रम तय गरिनुपर्ने सुझाए । शान्तिसुरक्षा कायम गर्न र नेपालीलाई आपतविपत पर्दा सहयोग गर्न सफल भएको नेपाल प्रहरीले पछिल्लो चरणमा फैलिदो अराजकता प्रति विशेष ख्याल राख्नुपर्नेमा उनको जोड थियो ।

पूर्व प्रहरीसँगको अनुभव आदानप्रदान गर्नुपर्ने र वातावरणलाई सफा साथै हरिलो भरिलो बनाउन भूमिका खेल्न प्रहरी लाग्नुपर्ने समेत प्रजिअ ढकालको सुझाव थियो । उनले कुश्मा नगरपालिकाको स्वच्छता र हरियालीका लागि आफूले सक्दो पहल गर्ने समेत बताए । अमर प्रहरीका परिवार र द्धन्द्ध पीडित सदस्यहरुलाई राज्यले दिएको सहयोगको सही सदुपयोग गर्न सक्दो योगदान गर्ने उनको दावी थियो ।

उक्त कार्यक्रममा अमर प्रहरी परिवारका तर्फदेखि बोल्ने भिम कुमारी पौडेलले अमर परिवारका सदस्यलाई राज्यले उचित सहयोग गर्न नसकेको गुनासो गर्दै आफ्नो केही छैन र कोही छैन जस्तो लाग्ने गरेको बताईन् । उनले मुलुक र जनताको पक्षमा लडाई लडेर विरगति प्राप्त गर्ने प्रहरी परिवारका सदस्यहरुको भावना र मर्का बुझिदिन आग्रह समेत गरिन् ।

जिप्रका पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पन्तले प्रहरी दिवसका उपलक्ष्यमा प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पठाएको सन्देश पढेर सुनाएकी थिइन् । सन्देशमा शुभकामनासहित प्रहरीलाई ईमान्दारितापुर्वक विना सम्झौता जनताको शान्ति र सुरक्षा कायम राख्न सुझाइएको थियो ।

प्रहरी दिवसको अवसरमा सुरक्षा निकायका प्रमुखहरु शसस्त्र चण्डिका गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक कृष्ण बहादुर थापा, रणदल गुल्मपति सेनानी उज्जल केसी, उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने, सामुदायिक प्रहरी सेवा समाज कुश्माकी अध्यक्ष मानकुमारी गिरी, पत्रकार महासंघ पर्वत अध्यक्ष दुर्गाप्रसाद शर्मा, पुर्व प्रहरी संगठन पर्वतका सचिव हरिनारायण गिरी लगायतको सहभागीता थियो ।

बाग्लुङ र म्यादीमा पनि प्रहरी दिवस –बाग्लुङ र म्याग्दीमा पनि प्रहरी दिवस मनाइएको छ । ६० औं प्रहरी दिवसको अबसरमा बाग्लुङ र म्याग्दीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले प्रहरी समाजको रक्षक भएका कारण प्रहरीले सवैलाई समान व्यवहार गर्नुपर्ने बताएका थिए ।

प्रहरीमा पनि राजनीतिकरण भयो भने समाजमा रहेको प्रहरीको मान र सम्मानमा दाग लाग्ने भन्र्दै यसमा सचेत हुनको लागि आग्रह गरे । प्रहरीले मुस्कान सहितको सेवा दिन सकेममा मात्रै समाजमा भएका घटनाहरु सहज रुपमा सार्वजानिक हुने र समाजमा फैलिएको दण्डहिनता, अमानविय व्यवहारको अन्यहुनेमा बक्ताको जोड थियो ।

मुस्ताङमा पनि मनाइयो प्रहरी दिवस मुस्ताङमा पनि ६० औ प्रहरी दिवस मनाइएको छ ।

प्रहरीको हिरक दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले प्रहरीले आफ्नो काम र कतव्र्यमा इतिहासलाई कायम राख्नु पर्ने बताए । साथै उनले जिल्लामा भएका सम्पूर्ण पक्ष संग छलफल गरी अगाडी बढने बताउँदै पर्यटन प्रवद्र्धनमा प्रशासनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै सैनिक उच्च शिखर शिक्षालयका महासेनानी इन्द्रबहादुर रायमाझीले आगामी दिनमा प्रहरीको काम, कतव्र्य निर्धिष्ट भएकोले सोही अनुसार अगाडी बढेर काम गर्न शुभकामना व्यक्त गरे । साथै उनले विषम परिस्थितिमा सहयोगका लागि नेपाली सेना सदैव तत्पर रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!