बाच्छाका महिलाहरुद्वारा गाउँमै मैनवत्ती उत्पादन

Posted on: 14 Nov, 2015

कात्तिक २८, पर्वत / पर्वतको बाच्छाका महिलाहरुले तिहारमा सबैभन्दा बढि खपत हुने मैनवत्ती गाउँमै उत्पादन गर्न सक्षम भएका छन् । महिला सञ्जाल बाच्छाको आयोजनामा तालिम लिएका गाविसका महिलाहरुले मैनवत्ती उत्पादन गरेर यसपालीको तिहारमा गाउँभरिका घरहरु उज्यालो बनाएका छन् ।

बजार क्षेत्रमा र विजुली पुगेका ठाउँमा झल्लरको प्रयोग भएपनि अहिलेसम्म बिजुली नपुगेको बाच्छामा भने स्थानीय उत्पादन मैनवत्तीले गाउँ झिलिमिली भएको हो । महिला सञ्जालको आयोजनामा भएको तालिममा सहभागीहरुले यसैलाई व्यवसायिक बनाउने सोचका साथ घर घरमा उद्योग नै सञ्चालन गरेका छन् । गएको असारमा सातदिने तालिम लिएका महिलाहरुले गाउँमा उत्पादन गरेको मैनवत्ती बेचेर राम्रो आम्दानी गरेको महिला सञ्जाल वाच्छाकी अध्यक्ष डम्बरकुमारी गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार गाविसमा जाने लक्षित बर्गको बजेटले महिलाहरुले मैनवत्ती उत्पादन सम्बन्धी तालिम लिएर उद्यमी बनेका हुन् । गत असारमा प्रशिक्षक सीता केसी र राष्टिय उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरिता भण्डारी सरुले उनीहरुलाई तालिम दिनुभएको थियो । तालिम लिएर अन्य ठाउँका महिलाहरुले यसरी व्यवहारमा उतारेका थिएनन् । बाच्छा गाविसका महिलाहरुले भने उद्यम नै सञ्चालन गरेपछि गाविस भरिका महिलाहरु तालिम लिएका महिलाहरु संग सीप सिक्न थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!