२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : गाईपालनमा रमाउँदै बुढाथोकी

२०७५, २६ चैत्र मंगलवार ०६:१९

नारायणी रजौरे, चैत २६, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ ।

विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाउनुभएको छ । आफ्नो परिवार मात्र नभएर उहाँले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिनुभएको छ । बुढाथोकी पशुपालन पेशाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वार्षिक रु १० देखि १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ, म यसैमा रमाएको पनि छु ।” 

उहाँको दिनचर्या बिहान मिर्मिरेबाट शुरु हुन्छ । प्रायः गाईका बाच्छा–बाच्छीको स्याहार–सुसारबाट शुरु हुन्छ उहाँको दिनको काम । दिउँसो पनि प्रायः उहाँ धेरै यसैमा व्यस्त देखिनुहुन्छ । 

सामान्य खेती किसानी परिवारका बुढाथोकी धन कमाउन भन्दै १२ वर्षपहिले साउदी अरेबिया जानुभएको थियो । तर त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि आफू स्वदेश फर्किएको उहाँको भनाइ छ । त्यहाँ रहेका नेपालीसँग आर्थिक सहयोग सङ्कलन गर्ने गरेको तर सो रकम सङ्कलनको कामलाई गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले त्यहाँको प्रहरीलाई खबर गरेपछि आफू साउदीमा जेलमा परेको उहाँले बताउनुभयो । 

“मैले त्यहाँका नेपालीलाई परेको दुःख देखेपछि त्यसैमा काम लाग्ने गरी केही साथीको सहयोगमा सो रकम सङ्कलन गरेको थिएँ तर, पछि उनले प्रहरीलाई अवैध भनिदिएछन्”, उहाँले बताउनुभयो । पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालन पेशामा लागेको उहाँले बताउनुभयो । 

शुरुका वर्षमा आफ्नै घरजग्गामा रु एक लाख ५० हजार लगानी गरेर तीनवटा जर्सी गाईबाट सेवा शुरु गरेको बताउने बुढाथोकीकहाँ अहिले जर्सी क्रस जातका गरी जम्मा १४ गाई र छ बाच्छा–बाच्छी छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि एक लाख ५० हजार पर्ने बुढाथोकी बताउनुहुन्छ । अहिले उहाँले दैनिक ८० देखि ९० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ भने केही दूध आफ्नै फार्मबाट स्थानीयवासीले खरीद गरी लिने गरेका छन् । 

बुढाथोकीले गत वर्षदेखि रु १६ लाखको लागतमा बुढाथोकी कुखुरा फार्मसमेत सञ्चालनमा ल्याउनुभएको छ । फार्ममा तीन हजार लेयर्स जातका कुखुरा छन् । कुखुराका लागि दाना महँगो र अण्डाको मूल्य कम भएकाले कुखुरापालनबाट यस वर्ष फाइदा नभएको बुढाथोकी भन्नुहुन्छ । 

शनिबार बुढाथोकीको गाई फार्ममा दूध खरीद गर्न आएकी उमहानगरपालिका–८ निवासी २३ वर्षीया सन्तोषी शर्माले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि एक लिटर दूध किन्न गाउँभरि घुम्नुपर्ने र त्यो पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।”  

त्यसैगरी सोही ठाउँकी ४२ वर्षीया गोमा शर्माले पनि आफूले घरमा तरकारी खेती गरेको र त्यसका लागि गाईको मल खरीद गर्न आएको बताउनुभयो । बुढाथोकीको फार्ममा अहिलेसम्म रु २५ लाख लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ । 

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्न सफल भएको बुढाथोकीले बताउनुभयो । आफूले दुई बिघा जमीन गाईपालनका लागि भाडामा लिए पनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या हुने गरेको उहाँको भनाइ छ । 

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको पनि बुढाथोकीले बताउनुभयो । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरू आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, बुढाथोकीले भन्नुभयो, “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले गाईपालक किसान भनेर ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेशिन दिएको थियो, हाल उक्त मेशिन काम नगर्ने अवस्थामा छ ।” 

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उहाँको गाई फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरीदका लागिसमेत मानिस आउने गरेका छन् । “पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जानुपर्छ भन्ने छैन”, उहाँको सुझाव छ, “पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ ।” स्वयं युवा वर्गले एक सञ्जाल निर्माण गरी गाईपालनका पूर्वाधारहरु पहिचान र निर्माण गरेर सहकारीका रूपमा व्यवसायलाई अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ । 

गाईपालनका लागि मुख्यतः घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने बुढाथोकी दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको शुद्धतामा उपभोक्तहरुले आशङ्का गर्ने गरेको उल्लेख गर्नुभयो । विभिन्न क्षेत्रबाट दिइने अनुदान खाली प्रक्रियामुखी रहेको र आवश्यकताभन्दा पनि कार्यक्रममुखी भएकाले अनुदानलाई व्यावहारिक र आवश्यकतामा आधारित बनाउनुपर्ने उहँको भनाइ थियो । उहाँले सरकारले कृषकका लागि मल अनुदान दिएजस्तै प्रतिलिटर दूधका आधारमा केही रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

“अनुदान लोक सेवा आयोगले माग्ने निवेदनजस्तो नभई व्यवसाय शुरुआत गर्दा कृषकले थाहा नपाई गोठमा आइपुग्ने किसमको हुनुपर्छ”, उहाँको सुझाव छ, “यस्तो अनुदान पनि पशु बीमा जस्तै ७५ प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने जस्तै हुनुपर्छ ।” उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उहाँको सुुझाव छ । (रासस)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन