2026-11-01 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

आरुबोटे हत्याकाण्डः ‘नौ/नौ जनालाई एक्लैले मार्यो भन्दा कसरी विश्वास गर्ने ?’

रवीन्द्र काफ्ले | जेठ ११, फिदिम (रासस) | मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन । 

नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ । कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन् । “छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन”, चिन्तामा देखिएकी कान्छीमायाले भनिन्, “साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?”

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । “हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो”, बजिन्द्रप्रसादले भन्नुभयो, “कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।”

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउनुहुन्छ । “अहिलेसम्म एक जना मान्छेले सबैको हत्या गर्यो भन्ने पुष्टि भएको छ”, वडाध्यक्ष फियाकले भन्नुभयो, “तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ ।” यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् । नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो । मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भन्नुभयो, “स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्नसक्ने अवस्थामा छैन ।” विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ । मृतक धनराज शेर्माकी छिमेकी यामकुमारी फियाकले भन्नुभयो, “यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ । नौ/नौ जनालाई एक्लैले मार्योभन्दा हामीले कसरी विश्वास गर्ने ?” आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ । “साना नानीलाई अब केही हुन्न भनेर सम्झाउँनै सकेका छैनौँ”, यामकुमारीले भन्नुभयो, “आधामासु भएर बाँचिरहेका छौँ ।”

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् । “घरेलु हतियार साथमा लिएर, राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ”, स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भन्नुभयो, “अहिले त प्रहरी र आफन्तको घुँइचो छ । भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ ।” आमाबाबुको काजकिरिया गरिरहेकी बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउनुहुन्छ । “सबैले डर मात्रै देखाउँछन् । घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्”, दिलमायाले भन्नुभयो, “खोइ भोलि कसरी ज्यान जोगाउने ?”

स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन । पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउनुहुन्छ । “यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो”, पौडेलले भन्नुभयो, “त्रास कम गर्न तथा सामूहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ ।” प्रहरीको उक्त टोली केही दिन घटनास्थलमै रहने भएको छ । घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली आज फिदिम फर्कंदैछ । पौडेलले भन्नुभयो, “लामो अनुसन्धानपछि टोली फिदिम आउनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द