Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

आरुबोटे हत्याकाण्डः ‘नौ/नौ जनालाई एक्लैले मार्यो भन्दा कसरी विश्वास गर्ने ?’

२०७६, ११ जेष्ठ शनिबार १४:४८

रवीन्द्र काफ्ले | जेठ ११, फिदिम (रासस) | मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन । 

नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ । कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन् । “छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन”, चिन्तामा देखिएकी कान्छीमायाले भनिन्, “साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?”

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । “हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो”, बजिन्द्रप्रसादले भन्नुभयो, “कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।”

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउनुहुन्छ । “अहिलेसम्म एक जना मान्छेले सबैको हत्या गर्यो भन्ने पुष्टि भएको छ”, वडाध्यक्ष फियाकले भन्नुभयो, “तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ ।” यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् । नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो । मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भन्नुभयो, “स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्नसक्ने अवस्थामा छैन ।” विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ । मृतक धनराज शेर्माकी छिमेकी यामकुमारी फियाकले भन्नुभयो, “यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ । नौ/नौ जनालाई एक्लैले मार्योभन्दा हामीले कसरी विश्वास गर्ने ?” आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ । “साना नानीलाई अब केही हुन्न भनेर सम्झाउँनै सकेका छैनौँ”, यामकुमारीले भन्नुभयो, “आधामासु भएर बाँचिरहेका छौँ ।”

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् । “घरेलु हतियार साथमा लिएर, राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ”, स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भन्नुभयो, “अहिले त प्रहरी र आफन्तको घुँइचो छ । भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ ।” आमाबाबुको काजकिरिया गरिरहेकी बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउनुहुन्छ । “सबैले डर मात्रै देखाउँछन् । घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्”, दिलमायाले भन्नुभयो, “खोइ भोलि कसरी ज्यान जोगाउने ?”

स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन । पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउनुहुन्छ । “यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो”, पौडेलले भन्नुभयो, “त्रास कम गर्न तथा सामूहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ ।” प्रहरीको उक्त टोली केही दिन घटनास्थलमै रहने भएको छ । घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली आज फिदिम फर्कंदैछ । पौडेलले भन्नुभयो, “लामो अनुसन्धानपछि टोली फिदिम आउनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश