२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच पटक सांसद बन्नुभएका ८१ वर्षीय श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

२०७६, २८ जेष्ठ मंगलवार ११:१५

नारायण अधिकारी, जेठ २८, चितवन । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ । 

युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसक्नुभएको छ ।

पछिल्लो समय विसं २०६५ सालयता उहाँको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्य हुँदै विसं २०६९ मा उहाँकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था दर्ता भयो । त्यही संस्थामार्फत् भ्रष्टाचार निवारणका लागि उहाँ अनवरत रुपमा लागि पर्नुभएको छ ।

हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गठन गरेको भ्रष्टाचारविरुद्ध निगरानी नागरिक संस्था (सिटिजन जुरी)को संयोजक पनि उहाँलाई बनाइएको छ । होचो कद र फुर्तिलो शरीर भएका श्रेष्ठ यिनै दुई संस्थामार्फत् भ्रष्ट्राचार न्यूनीकरण गर्न सक्रिय हुनुहुन्छ । विभिन्न कार्यालयमा चिठी बोकेर आफँै पुग्नु हुने श्रेष्ठको जीवनको एउटै लक्ष्य भ्रष्टाचारमुक्त समाज बनाउनु हो । भ्रष्टाचार रोक्न जनतामा सचेतना आवश्यक पर्ने भन्दै उहाँले भन्नुभयो, “पहिले राजनीतिक नेतृत्व नै सुधार गर्न जरुरी छ । इमान्दार बन्नुपर्छ ।” जानी नजानी राजनीतिमा लागेको बताउँदै उहाँले राजनीतिलाई देश बनाउने मूल कुरा हो भन्ने ठानेको बताउनुभयो ।

राजनीति बिना देश सुध्रदैन भन्ने ठानेर म कम्युनिष्टबाट काङ्ग्रेस पनि भए श्रेष्ठले थप्नुभयो, “काङ्ग्रेसमा लाग्दा पनि मुलुकमा बेथिति देखियो, भ्रष्टाचारका जाला देखियो । तत्कालनै त्यसको अन्त्य नगरिकन काम छैन ।” रातमा सपनामा पनि भ्रष्टाचार रोक्ने अभियानमा आफू लागेको देख्ने गरेको भन्दै उहाँले जुन देशमा भ्रष्टाचार छैन, त्यो देश बनेका छन् भन्नुभयो ।

सानातिना भ्रष्टाचार कर्मचारीबाट भए पनि नीतिगत भ्रष्टाचार नेताबाट हुने गरेको श्रेष्ठको ठम्याइ छ । आफँै भ्रष्ट भएपछि उसको नैतिक बलनै नहुने श्रेष्ठको भनाइ छ । विसं १९९५ मा तनहुँको सामु भगवतीमा जन्मनुभएका श्रेष्ठ २१ वर्षको उमेरदेखि चितवनको स्थायी बासिन्दा हुनुभयो । त्यसअघि नै विसं २००९ मा बाल्यकाल देखिनै उहाँको सङ्गत कम्युनिष्टसँग भयो । श्रेष्ठले भन्नुभयो, “काठमाडौँमा म पढ्न बसेको घर पुष्पलालको कान्छा बा को रहेछ । त्यहीबाट मैले कम्युनिष्ट सिके ।”

विसं २०१५ को निर्वाचनमा आफूले कम्युनिष्ट पार्टीको उम्मेदवारलाई जिताउन निर्वाचनमा एजेन्ट बस्नुभएका श्रेष्ठको बाल्यकाल र युवा अवस्था लुकेरै भए पनि कम्युनिष्ट नेतासँगको सङ्गतमा बित्यो । जुन घरमा उहाँ डेरामा बस्नुहुन्थ्यो त्यही घरमा लुक्न आउनुभएका मनमोहन अधिकारी संगको सम्बन्ध निकट बन्यो ।

विसं २०२२ मा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहसँग नजिक हुँदै राजनीतिक यात्रालाई अगाडि बढाउनुभएका श्रेष्ठ त्यसपछिको १० वर्षसम्म जिल्ला पञ्चायत चितवनको उपसभापति र सभापति भएर काम गर्नुभयो । पञ्चायतको सभापति हुँदै गर्दा गोरखपुर पुगेर लुकीछिपी पुष्पलालसहितका नेतालाई भेट्ने गरेको उहाँले बताउनुभयो ।

कम्युनिष्ट पार्टीको सचिव हुँदै २०३५ सालदेखि २०४८ सम्ममा चार पटक उहाँ सांसद बन्नुभयो । विसं २०५२ मा नेपाली काङ्ग्रेस प्रवेश गरेपछि एक पटक राष्ट्रियसभा सदस्य हुनुभएका श्रेष्ठले अर्को पटक भने संविधान सभाको निर्वाचनमा पराजय भोग्नु प¥यो । पञ्चायतकालीन समयका एक हस्ती श्रेष्ठ अहिले वृद्ध उमेरमा भने भ्रष्टाचार रोक्न दिल ज्यान दिएर लागि पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा