असार २९, लमजुङ । अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ को दुई घर पहिराले बगाएको छ । पहिरोले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताउनुभयो ।
त्यस्तै, शिरमणि भट्टराई, दिपेश भट्टराई, एकमाया दुरा, र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीय पौडेलको भनाइ छ । एक्साभेक्टरले पहिरो हटाउने कार्य गरिरहेको छ । सो वडाका रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
सो क्षेत्रका विभिन्न घर तथा बस्तीहरु जोखिममा रहेको र विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । सो क्षेत्रमा प्रहरी र स्थानीय मिलेर स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उहाँको भनाइ छ । सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ ।