२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

पहिरोले खोस्यो खुशी : विदेश जाने सपना पहिरोमा बिलायो

२०७७, ३० असार मंगलवार ०५:३५

कृष्ण न्यौपाने । असार ३०, दमौली । केही दिनदेखि भीषण वर्षाको खबर सुन्नुभएका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उहाँ र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै हुनुहुन्थ्यो । 

पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उहाँहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए । राति १२ बजे अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमती त बाँच्न सफल हुनुभयो तर उहाँहरुका दुई छोरा र दुई बुहारी र नातिनीको भने ज्यान गयो । घटनापछि आनबहादुर सकुशल हुनुहुन्छ भने उहाँकी श्रीमती ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको छ । 

“आनबहादुर र ज्योतिमाया सुतेको पुरानो घर भत्किए पनि उहाँहरुको ज्यान जोगिएको छ”, ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भन्नुभयो, “तर सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो ।” पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भयो । एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्तब्ध छ । “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै स्तब्ध छ”, उहाँले भन्नुभयो । 

रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो । लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो । साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ ।

विदेश जाने सपना पहिरोमा बिलायो

व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ४० वर्षीया कमला, छोराहरु २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अन्जनाको निधन भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर घाइते केशरबहादुरलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । केशरबहादुरका २० वर्षीय राजेश भने अझै बेपत्ता छन् ।

पहिरोमा पुरिएर मृत्यु भएका मनोज वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गर्दै थिए तर उनको विदेश जाने सपना पहिरोमै बिलाएको छ । मनोज वैदेशिक रोजगारीका लागि दुबई जान काठमाडौँ यात्राको तयारी गर्दै थिए । रातिबाटै परेको पानी घरभित्र पसेपछि केशरबहादुर पानी बाहिर फाल्दै थिए । अचानक घर पुरिँदा केशरबहादुर भाग्न सफल भए तर घरभित्रका सबै जनाको पहिरोले पुरिएर निधन भयो ।

व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ । त्यस्तै व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङ पहिरामा बेपत्ता भएका छन् । 

मृतकका परिवारलाई राहत 

ऋषिङ गाउँपालिकाले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई सोमबार राहत रकम उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडित आनबहादुर थापालाई राहतस्वरुप रु एक लाख प्रदान गर्नुभयो । जनताको दुःखमा मलम लगाउन राहतस्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

म्याग्दे गाउँपालिकाले पहिरोले पुरिएर मृत्यु भएका वडा नं ६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको परिवारलाई तत्कालका लागि राहतस्वरुप रु ५० हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मृतकको घरमा पुगेर आफन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । पहिरोले गाउँपालिकाका विभिन्न वडामा ६१ घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क आएको छ । विस्थापित भएका परिवारलाई राहतको व्यवस्था मिलाइने अध्यक्ष रानाले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा सदस्यद्वारा दुःख व्यक्त

तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले तनहुँ जिल्लामा पहिरोमा पुरिएर भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार प्रेस विज्ञप्तिमार्फत सांसद श्रेष्ठले पहिरोमा पुरिएर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरुको शीघ्र खोजी गरी अवस्था पत्ता लगाउन सम्बन्धित सरोकारपक्षसँग आग्रह गर्दै सांसद श्रेष्ठले प्राकृतिक प्रकोपमा पर्नुभएका सम्पूर्ण नागरिकको उद्धार र राहतमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ । प्राकृतिक विपत्तिबाट बच्न गरिने पूर्वतयारी र सावधानी अपनाउन नसकिएको हो कि भन्ने महसुस गरिएको भन्दै सांसद श्रेष्ठले भन्नुभयो, “विपद्को अवस्थामा हामीले विगतको कमजोरीबाट पाठ सिक्दै भविष्यमा विपत्तिबाट जोगिन सक्ने सबै उपायहरुको अवलम्बन खोजी गरिनुपर्छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्