२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा सर्पको बिगबिगी, झारपुक गर्दागर्दै जान्छ ज्यान

२०७७, २९ आश्विन बिहीबार ०५:१०

दिलकुमार लिम्बू । असोज २९, फुङ्लिङ । फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि उनको मृत्यु भयो । “हामीले बेलुका मात्रै थाहा पायौँ”, छिमेकी रामले भन्नभुयो, “झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।” उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।

मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ लेलेप सडकको ग्याविन बुन्न पुग्नुभयो । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा रहेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो । गालामा डसेपछि शरीरमा विष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भएपछि झारफुक गरे । तर, सिकिस्त अवस्था पुगेपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था निकै गम्भीर भएपछि थप उपचारका लागि भदौ २२ गते झापाको चारआली सर्पदंश अस्पतालमा पुर्याइ अहिले थलङको उपचार भइरहेको छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई २०७६ वैशाख २६ गते घरमै सर्पले डस्यो । उनलाई सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । परिवारले धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे । निको हुनुको साटो हात सुनिन्दै गयो । केही नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्यचौकी लगियो । स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गर्यो । उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो । स्थानीय दीपक लिम्बूका अनुसार बालकलाई निको बनाउन इसाई धर्मको विधिअनुसार पटक–पटक बाइबल पढाइएको थियो ।

सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ–४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पुर्याइयो । अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बिर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैँची बगानमा घाँस काट्न जाँदा उनी सर्पको शिकार बनेकी थिइन् ।

फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा जना, २०७५/७६ मा चार जना र २०७४/७५ मा चार जनाको सर्पको टोकाइपछि मृत्यु भएको भट्टराईले बताउनुभयो । यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् । अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ । गत जेठ २१ गते फुङलिङ नगरपालिका–२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राति धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लानेतर्फ कसैले चासो दिएनन् । उनको बिहान पाँच बजे मृत्यु भयो ।

फक्ताङलुङ गाउँपालिका–४ का पूर्वप्रधानपञ्च मणिप्रसाद लावुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैँची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेका छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्नेजस्ता परम्परागत उपचार पद्धति व्याप्त छ ।

निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लावुङले बताउनुभयो । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको सङ्क्रमणको जोखिममा समेत वृद्घि चिकित्सक बताउँछन् ।

यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य सङ्क्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामा बताउनुहुन्छ । “सर्पले डसेपछि उहाँहरु घरेलु उपचारमा लाग्नुहुन्छ, कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ”, लामाले भन्नुभयो, “गलत उपचारले रगतमा इन्फेक्सन पुग्छ र अन्य सङ्क्रमणले ज्यान गएको उदाहरण छ ।”

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न उहाँको सुझाव छ । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पुर्याउनु नै उत्तम उपाय भएको लामाले बताउनुभयो । “सर्पले टोकेको अङ्गलाई चलाउनु हुँदैन । स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्छ”, लामाले भन्नुभयो ।

गाउँघरमा सर्पदंशका कारण नागरिकहरु पीडित भए पनि सरकारले भने यसमा ध्यान दिएको छैन । तीनै तहका सरकारले यो समस्या समाधानको कुनै योजना बनाएका छैनन् । यो समस्याबाट न्यून आय भएका व्यक्ति बढी प्रभावित भइरहेका छन् । सर्पदंश समस्यलाई उच्च प्राथमिकता दिई नियमितरूपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने पूर्वप्रधानपञ्च लावुङको सुझाव छ । आफ्नो पालिकामा अन्यभन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपलिकाका अध्यक्ष सरोज लिम्बूले बताउनुभयो । “हाम्रो क्षेत्रका जनतालाई सर्पले धेरै दुःख दिइसक्यो”, लिम्बूले भन्नुभयो, “यो वर्षदखि टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण