२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मुक्तकमैयाका दिन फेरिँदै

२०७७, १३ माघ मंगलवार ११:३७

सिद्धराज भट्ट । माघ १३, सुदूरपश्चिम । मुक्तकमैया सुन्दरी चौधरीले आफू पक्की घरमा बस्न पाइएला भनेर जीवनमा कहिल्यै सोच्नु भएको थिएन । तर मुक्ति पछिका दिनमा आएको सचेतना र काम गर्दा भएको आम्दानीसँगै अहिले उहांँले पक्की घरमा बस्ने हैसियत बनाउनु भएको छ । 

 कमैया बस्दाको तत्कालीन समयमा मालिक (जग्गा धनी) को घर परिसरमा बनाइएको फुसको छानो भएको छुट्टै कच्ची घरमा उहाँको परिवार बस्ने गथ्र्यो । मुक्तिसँगै पति नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यवहारिक उपयोग गर्दै घर संरचना निर्माणको काम पाउँदा उहाँको परिवारको कमाइ हुन थालेको हो । यद्यपि कोरोनाको जोखिमका कारण केही महिना उहाँहरु काम विहीन हुनुभएको थियो । 

‘‘विगतमा कच्ची घर टहरामा बसेर मालिकले लाए अह्राएको काम गर्नुपर्दा झेलेको दुःख कष्टले आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन’’, उहाँले भन्नुभयो, ‘‘मुक्तिपछिका दिनमा हामी दुबै जनाले सीप सिकेर गरिरहेको कामले आम्दानी हुँदा अहिले सन्तुष्ट भएकी छु ।’’ पतिको कामलाई सघाउँदै जाँदा आफूले पनि डकर्मी काम सिकेको उहाँको भनाइ छ । 

आर्थिक समस्याकै कारण कुनै समयमा छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले नजिकैको विद्यायमा गएर पढ्ने गरेका छन् । मुक्तकमैया बस्तीकै वसन्तीदेवी चौधरी बेलबखत बस्तीका परिवारमा आइपर्ने समस्या समाधानका लागि अगुवाइ गरिरहनुहुन्छ । ‘‘बस्तीमा रहेका ५३ परिवारमध्ये नौ परिवारले अझैँ जग्गाको धनीपुर्जा पाउनसकेका छैनन्’’ आफ्नो दुई तले पक्की घर निर्माण गरिरहनुभएकी उहाँले भन्नुभयो, ‘‘नगर प्रमुखले जग्गाधनी लालपुर्जा उपलब्ध गराउने अश्वासन दिनुभएको थियो, तर अहिलेसम्म छुटेकाले पुर्जा पाउनसकेका छैनन् ।’’

धनगढी बजार छेउमा रहेको पुरानो हवाई मैदानमा बसोबास गरिरहेका पूर्व कमैयालाई सोही ठाउँमा प्रतिपरिवारलाई पाँचधुरका दरले जग्गा उपलब्ध गराई पुनःस्थापित गराइएको छ । पुनःस्थापित गराइएका सुन्दरी र वसन्तीसहितका झण्डै २५ परिवार मुक्तकमैयाले पक्की घर ठड्याइ सकेका छन् । आफैसँग घर चुनाइ गर्ने सीप भएकाले घर निर्माणका लागि चाहिने सामग्री जुटाउने बाहेक अन्यमा लागत नलाग्ने गरेको पूर्व कमैयाको भनाइ छ । ‘‘एक ठाउँमा पक्की घरको काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ”, अर्का मुक्तकमैया गोपाल चौधरीले भन्नुभयो, ‘‘काम गर्दा कमाइ हुने गरेकाले सन्तुष्टि पनि मिलेको छ ।’’उहाँले कर्जा निकालेर विद्युतीय रिक्साको व्यवसाय शुरु गर्नुभएको छ । ‘‘रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु”, गोपालले भन्नुभयो, ‘‘निकालेको कर्जाको किस्ता तिर्न र घर खर्चको जोहो भइरहेकोमा पछिल्ला दिनमा कोरोनाको समस्याले सोचे जति आम्दानी भएको छैन ।’’ उहाँले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनु भएको छ । मुक्तकमैयाले पछिल्ला वर्षमा गरिरहेको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी हुँदा उनीहरुको जीवनयापन पनि पहिलेको भन्दा केही सहज बनेको देखिएको छ । योसँगै पूर्व कमैयाको जीवनशैली पनि फेरिन थालेको छ । 

साविकको जिल्ला भूमिसुधार कार्यालयको तथ्याङ्कअनुसार कैलाली जिल्लामा झण्डै चार हजार भन्दा बढी मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएको थियो । तीमध्ये झण्डै ७० प्रतिशतले अहिले आफ्नो सीपको व्यवहारिक सदुपयोग गरिरहेको अनुमान छ । मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेती, शैलुन व्यवसायलगायत विषयमा तालीम पाएका थिए । व्यवस्थित रुपमा बसोबास गराइएका मुक्तकमैयाको जीवनयापन सहज हुँदैगएको देखिए पनि पुनःस्थापित गराउन बाँकी पूर्व कमैया परिवारलाई भने समस्या रहेको मुक्तकमैयाका अगुवा बताउँछन् ।

  तत्कालीन सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा रहेका कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैयामुक्ति घोषणा गरेको थियो । कमैया प्रथाअन्तर्गत जग्गाधनीको रेखदेख र नियन्त्रणमा कमैयाले खेती सम्बन्धी सम्पूर्ण काम र मालिकले लाए अराएको घरायसी कामसमेत गर्नुपथ्र्यो । मालिकको घरमा काम गर्दा कमैया परिवारको नाममा रहने सौंकी(ऋण) सम्बन्धित मालिकलाई बुझाएर कमैया परिवारलाई अर्को जग्ग्गा धनीले वर्षभरिको लागि आफ्नो घरमा ल्याउन पाउँथ्यो । वर्षभरी गरेको कामको मूल्याङ्कनका आधारमा अर्को वर्ष सोही घरमा बस्ने अथवा नबस्ने टुङ्गो हरेक माघ महिनामा लगाइन्थ्यो । यसरी मालिक र कमैयाबीच छलफल भई टुङ्गो लगाउने कामलाई ‘खोज्नीबोझ्नी’ भन्ने गरिन्थ्यो । 

  मुक्त घोषणा गरेलगत्तै सरकारले मुक्तकमैयाको पुनःस्थापनाको कार्य अघि बढाएको भए पनि जग्गाको अभाव लगायतका कारण सहज रुपमा समयमै सबैको पुनःस्थापना हुनसकेको थिएन । कैलालीमा मुक्तकमैया परिवारको सङ्ख्या आठ हजार ९१० पहिचान भएका थिए । तीमध्ये आठ हजार ४२९ भन्दा बढी मुक्तकमैया परिवारको पुनःस्थापन भइसकेको छ । अझैँ ४८१ परिवार पुनःस्थापित हुन बाँकी रहेको जनाइएको छ । बर्दिया जिल्लामा पनि कतिपय मुक्तकमैया परिवारको अझैँ पुनःस्थापना हुन बाँकी रहेको जनाइएको छ । दाङ, बाँके र कञ्चनपुरका सबै मुक्तकमैयालाई पुनःस्थापित गरिसकिएको बताइएको छ । दुईवर्ष अघिसम्म सरकारले मुक्तकमैया परिवारको पुनःस्थापन कार्यक्रमअन्तर्गत उनीहरुको घर निर्माणका लागि जग्गा खरीदबापतप्रति परिवार रु दुई लाख, काठ खरिदका लागि रु एक लाख र घर मर्मतमा रु ५५ हजार उपलब्ध गराउँदै आएको थियो ।

पुनःस्थापनाको काम अलपत्र 

कैलाली जिल्लामा बाँकी रहेका मुक्तकमैया परिवारलाई पुनःस्थापना गराउने काम पूरा नहुँदै पछिल्लो समय अलपत्र परेको गुनासो छ । ‘‘सरकारले स्थानीय तहमार्फत् यो काम हुने भनेको थियो, साविकको भूमिसुधार कार्यालय कैलालीको कमैया फाँटमा काम गर्नु भएका कर्मचारी अमर चौधरीले भन्नुभयो, ‘‘स्थानीय तहलाई यो विषयमा गर्नुपर्ने परिपत्रसमेत नहुँदा पुनःस्थापनाको काम अलपत्र परेको देखिएको छ ।’’ 

 कैलालीको गोदावरी नगरपालिकाको गेटा, टीकापुरको शिवनगर, लम्कीको एकतानगरलगायत ठाउँमा अस्थायी रुपमा बसोबास गरिरहेका मुक्तकमैयाको पुनःस्थापना हुन नसकेको बताइएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि सरकारले भूमिसुधार कार्यालय, कमैया फाँटको काम स्थगित गरेको चौधरीले बताउनुभयो । कमैया फाँटको काम बन्द हुँदा त्यहाँ कार्यरत पाँच कर्मचारीलाई पनि नोकरीबाट अवकाश दिइएको थियो । पहिले छुट्टाछुट्टै कार्यालयको रुपमा रहेका भूमिसुधार कार्यालय र मालपोत कार्यालयलाई सरकारले दुई वर्षअघि एकीकृत गरी भूमि सुधार तथा मालपोत कार्यालय बनाइएको थियो ।

‘‘कमैया पुनःस्थापनाको काम अवदेखि स्थानीय तहले गर्ने भनेर कमैया फाँटको काम बन्द गरिएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘फाँटमा रहेका पुनःस्थापना सम्बन्धी रजिष्टर लगायतका कागजातमा धमिराले खाएको हुनसक्छ ।’’रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना