माघ ५, काठमाडौँ । नेपालमा दैनिक कोरोना संक्रमित बढेसंगै उच्च सतर्कता अपनाइएको छ । यो सतर्कताले विशेष गरी एक स्थानबाट अर्को स्थानमा जानेहरुलाई बढी प्रभाव पार्छ । सरकारले बसमा सिट संख्या जति छ त्यति मात्र यात्रू राख्न पाउने नियमसंगै अब आन्तरिक हवाई उडानमा पनि नयाँ नियम लागू गरेको छ ।
नयाँ नियम अनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्य रुपमा लगाउन पर्ने भएको छ । साथै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
यसका साथै, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ ।
यसैगरी, सम्बन्धित वायु सेवा सञ्चालकको खर्चमा यात्रुहरूको एन्टिजेन परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रा यात्रा गराउने मन्त्रिपरिषद्को निर्णय छ ।