फागुन ५, काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दवाव परेको छ । निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेर आएको छ ।
यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम २ अर्ब ४१ करोड हुनेछ । यहीं मूल्य कायम रहँदा मासिक घाटा ४ अर्ब ८२ करोड पुग्छ । हाल पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ ५ पैसा, डिजेलमा १५ रुपैयाँ ४८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा भने नाफा छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म निगमले करिब २४ अर्ब नोक्सानी ब्यहोरिसकेको जनाएको छ । यहीं अवस्थामा प्रतिमहिना ४ अर्ब भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ । हाल भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाा २४ पैसा, डिजेल २५ रुपैयाा ३१ पेसा सस्तो रहेको निगमको दावी छ ।