फागुन २३, भक्तपुर । गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र महिलाको शव फेलापरेको थियो । भक्तपुरमा मृतावस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ ।
मृत फेलापरेकी महिला जेनिसा नगरकोटी रहेको खुलेको छ । उनको स्थायी ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । उनी मृत भेटिएकै स्थानवरपर बस्दै आएको र मजदुरी काम गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
उनको शव परालले छोपेको अवस्थामा भेटिएको थियो । मृतक महिलाको घाँटीअगाडिको भागमा गहिरो चोट, शरीरका अरू भागहरूमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरी अनुमान छ । उनको हत्या शनिबारदेखि आइतबारको बीचमा भएको हुन सक्ने अनुमान छ । मृतकका श्रीमान् पनि मजदुरी गर्दै आएका थिए ।