नन्दराम जैशी, भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियार सहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाइ एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली तथा ३०० केजी वन लसुन र रु ७० हजार नगद सहित पाँचजना लुटेरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी दिल बहादुर थापाले जानकारी दिनुभयो ।
जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाको भनाइ छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ ।
पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु ६ लाख नगद लुट्ने छुमचौर–७ का श्रीबहादुर वुढा र पातारासी– ३ वस्ने चन्द्र वीर ऐडीलाइ पक्राउ गरी मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो । प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् ।