2026-10-02 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

पुस २७, झापा | झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ ।

कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताउनुहुन्छ ।

“कनकाई नगरपालिकामा धेरैपटक पुगेको छु, मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको सालिक देख्न पाउँदा गौरवबोध हुन्छ”, बिर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत रहिसक्नुभएका ओझा भन्नुहुन्छ, “सङ्घीय सरकारले भर्खर राष्ट्रिय बिदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ । तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान ग¥यो ।”

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताउनुभयो ।

“कम्युनिष्ट आस्था बोकेका मेयरले किन राजाको सालिक ठड््याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे”, सालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेल भन्नुहुन्छ, “दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने महान् व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित हुनुहुन्छ ।”

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती पर्दछ भने सो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ । गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो । नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव विसं २०७७ मै लैजानुभएको थियो । उहाँ यसपटक दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित हुनुभएको हो ।

“मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हुँदा उहाँको सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गर्नुभयो”, उहाँले भन्नुभयो, “बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक हुनुभयो ।”

नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँद्नुभएको हो ।

नगरको यो सालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटक सालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन् । यसपालि कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिनुभयो ।

नगरभित्रका विद्यालय प्रतियोगितामा सहभागी थिए । आफ्नै बजेटमा पृथ्वीनारायण शाहको सालिक बनाउने कनकाई नगरपालिका नेपालकै पहिलो पालिका भएको उहाँले दाबी गर्नुभयो । झापाको कचनकबल गाउँपालिकाले समेत वडा नंं ५ पाठामारीमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ । पूर्वअध्यक्ष अन्जार आलमले वडा कार्यालयले जग्गाको व्यवस्था मिलाएपछि पालिकको रु छ लाख बजेटबाट सालिक निर्माण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पूर्वअध्यक्ष आलमले पार्टीले नै पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक र राष्ट्र निर्माताको रूपमा सम्मान गर्ने नीति लिएको हुँदा सालिक बनाइएको बताउनुभयो । आदिवासी राजवंशी र मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको कचनकबलमा निर्मित पृथ्वीनारायण शाहको सालिकमा हरेक वर्ष पुस २७ गते विशेष कार्यक्रमको आयोजना हुने गरेको छ  |

झापाको अर्को गाउँपालिका हल्दिबारीले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मानमा बर्सेनि स्थानीय बिदा दिँदै आएको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेपछि नेपालमै पहिलोपटक हल्दिबारीले पृथ्वी जयन्तीमा बिदा दिने परम्पराको थालनी गरेको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । विगत वर्षदेखिको यो बिदाको परम्परा यसपालि पनि कार्यान्वयन भइरहेको छ ।

पालिकाका अध्यक्ष लिङ्देनले आफ्नो कार्यकक्षमा विगत पाँच वर्ष अघिदेखि नै पृथ्वीनारायण शाहको तस्वीर राख्दै आउनुभएको छ । पुस २७ गते स्थानीय बिदा दिने निर्णय उहाँले सुरुआत गरेपछि झापाको कचनकबल र गौरीगञ्जमा समेत स्थानीय बिदा दिने गरिएको थियो ।

कार्यकक्षमा राष्ट्रनिर्माताको फोटो राख्ने हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन यसअघि र अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । नगरपालिकाको प्रवेशद्वारमा सालिक राख्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल पनि दुवै कार्यकाल नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग