चर्को आलोचनापछि सुपर फोर चरणका सबै खेल हमबानटोटामा सार्ने एसीसीको तयारी

Posted on: 05 Sep, 2023

भदौ १९, काठमाडौँ | एसिया कप क्रिकेटका खेलहरु अहिले पाकिस्तान र श्रीलंकामा आयोजना भइरहेका छन् । मूल आयोजक पाकिस्तान भए पनि प्रतियोगिताका अधिकांश श्रीलंकामा खेलाइँदै छ । एसिया कपको फाइनल खेल पनि श्रीलंकामै हुनेछ । 

श्रीलंकाली क्रिकेट बोर्डले एसिया कपको प्रारम्भिक चरणको खेलका लागि केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान र फाइनल खेलका लागि राजधानी कोलम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई छुट्याएको छ । 


तर, पालेकेलमा खेलाइएका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका छन् । दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । त्यसपछि सोमबार नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो ।

पटक—पटक रोकिएको नेपाल र भारतबीचको खेलको निणर्य अन्ततः ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा निकालिएको थियो । खेल वर्षाबाट प्रभावित हुन थालेपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) को पनि ब्यापक आलोचना हुन थालेको छ ।

त्यसैले एसिया कपका खेलहरु पालेकेलबाट हमबानटोटामा सारिने भएको छ । यस विषयमा एसीसी र श्रीलंकाली क्रिकेट बोर्डले सहभागी टोलीहरुसँग पनि छलफल गरिसकेका छन् । हमबानटोटा श्रीलंकाको दक्षिण सहर हो । 

सुपर फोर चरणका सबै खेल अब हमबानटोटामा खेलाइने समाचारमा जनाइएको छ । यसका अतिरिक्त कोलम्बोमा हुने भनिएको फाइनल खेल पनि हमबानटोटामै खेलाइने छ । खेल स्थल परिवर्तन गरिएको विषयमा सबै टोलीलाई जानकारी गराइसकिएको एसीसीले जनाएको छ । 

एसीसीले खेल स्थल परिवर्तन भएको कुरा छिट्टै औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । एसीसीले श्रीलंकामा मौसमको अवस्थालाई हेरेर यस्तो निणर्य लिइएको हो । आगामी १० दिनसम्म कोलम्बोमा वर्षाको सम्भावना ५० प्रतिशत देखिन्छ भने हामबानटोटामा केवल २० प्रतिशतमात्र वर्षाको सम्भावना छ ।

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको वहुप्रतिक्षीत खेल वर्षाका कारण रद्द भएपछि दुबै टोलीका समर्थकले एसीसीको चर्को आलोचना गरेका थिए । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का पूर्वअध्यक्ष नजाम सेठ्ठीले त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहका कारण यस्तो स्थिति सृजना भएको आरोपसमेत लगाएका थिए । जय शाह एसीसीका अध्यक्ष पनि हुन् । 

सेठ्ठीले वर्षाको समयमा एसीसीले संयुक्त अरब इमिरेट्स (यूएई) लाई नचुनेर ‘न्यूट्रल भेन्यू’ का रुपमा श्रीलंकालाई प्रयोग गरेको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए, ‘ज्यादै निराशाजनक ! एउटा महत्त्वपूर्ण खेलमा वर्षा बाधक बन्यो । पीसीबीले यो विषय पहिले नै उठाएको थियो । श्रीलंकामा वर्षाका कारण खेल प्रभावित हुन सक्ने जानकारी हामीले गराएका थियौं । हामी यो खेल यूएईमा खेलाइयोस भन्ने चाहन्थ्यौं । तर, हाम्रो कुरामा कसैले ध्यान दिएन । खेलकुदमा राजनीति गर्न खोजियो । दूर्भाग्यपूणर् अवस्था !’

बीसीसीआईले नै श्रीलंकालाई ‘न्यूट्रल भेन्यू’ का रुपमा प्रयोग गर्नुपर्ने अडान लिएको थियो । बीसीसीआईले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि भारतले श्रीलंका र पाकिस्तानले यूएईलाई ‘न्यूट्रल भेन्यू’ का रुपमा अगाडि सारेका थिए ।  

‘श्रीलंका क्रिकेट बार्ड आफैले पनि केन्डीमा यो सिजन प्रतियोगिता आयोजना गर्दैन । यो सबै कुरा थाहा पाएर पनि केन्डीलाई नै न्यूट्रल भेन्यूका रुपमा प्रयोग गरियो । यो भनेको खेलकुदमा राजनीति नै हो । यो कुनै पनि हालतमा माफी दिन नसकिने दूर्भाग्यपूणर् क्षण हो,’ सेठ्ठीले भनेका थिए । उनले बीसीसीआईका सचिव जय शाहकै कारण यो अप्रिय अवस्था सृजना भएको आरोप पनि लगाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!