भारत र पाकिस्तानको खेल आज प्रभावित भए रिजर्भ डेमा हुने, बंगलादेश र श्रीलंकाको असन्तुष्टि

Posted on: 10 Sep, 2023

एजेन्सी | एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ । एकदिवसीय खेलको शीर्ष स्थानमा रहेको पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । बाबर ब्याटिङतर्फ विश्व वरीयताको एक नम्बर खेलाडी हुन् । बाबरलाई फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमेदलगायतले ब्याटिङमा साथ दिनेछन् । बलिङतर्फ साहिन साह अफ्रिदी, नसिम शाह, हरिस राउफजस्ता खेलाडी हुनेछन् । 

विश्व वरीयताको तेस्रो स्थानका रहेको भारतको कप्तानी ओपनर रोहित शर्माले गर्नेछन् । रोहितलाई शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, ईशान किशन, हार्दिक पाण्ड्याले ब्याटिङमा साथ दिनेछन् । यसैगरी, बलिङतर्फ मोहम्मद सामी, मोहम्मद सिराज, कुलदीप यादव र रवीन्द्र जडेजाले पाकिस्तानी ब्याटरलाई चुनौती दिनेछन् । अघिल्लो खेलमा टोलीबाहिर रहेका जसप्रित बुम्राह फर्कन सक्छन् । यसअघि दुवै टोलीले समूह ‘ए’मा नेपाललाई हराउँदै सुपर फोरमा स्थान बनाएका थिए । 


पाकिस्तान र भारतबीचको खेल भने वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो । वर्षा हुनुअघि भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६६ रन बनाएको थियो । पाकिस्तानका तीव्र गतिका बलर अफ्रिदीले चार तथा नसिम शाह र हरिस राउफले समान तीन विकेट लिँदा भारतले ठूलो स्कोर बनाउन सकेन । अत्यधिक वर्षा भएपछि दोस्रो इनिङ्स सुरु हुनै सकेन । यसपछि दुवै टोलीले समान एक अंक बाँडेका हुन् । 

पानी पर्ने सम्भावना अत्यधिक, रिजर्भ डेमा खेल हुने

भारत र पाकिस्तानबीचको खेलमा वर्षा हुने अत्यधिक सम्भावना रहेको श्रीलंकाको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ । यसअघि पनि चिरपरिचित टोलीबीचको खेल वर्षाले प्रभावित भएपछि यसपटक एसिसीले विकल्प खोजेको हो । एसिसीले यदि वर्षाले खेल रोकिएको खण्डमा रिजर्भ डे (सोमबार)मा हुने बताएको छ । सोमबार खेल हुँदा अघिल्लो दिन रोकिएको स्थितिमै पुनः सुरु हुनेछ । यसअघि यस्तो नियम नभए पनि श्रीलंकामा अहिले वर्षाको समय हुँदा आइसिसीले विकल्प खोजेको हो । 

वर्षाका कारण श्रीलंकामा भएका खेलहरू अनिर्णीत हुँदै आएका छन् । नेपाल र भारतबीचको खेल वर्षाकै कारण छोट्याइएको थियो । आइतबार कोलम्बोमा पानी पर्ने सम्भावना ९० प्रतिशत रहेको बताइएको छ । खेलको एक घन्टाअघिदेखि नै पानी पर्ने सम्भावना हुँदा टस समयमै नहुने अनुमान गरिएको छ । यस्तै, तापक्रम २६ देखि ३२ डिग्रीसम्म हुने बताइएको छ । कोलम्बोमा १७ सेप्टेम्बरसम्म वर्षा हुने अनुमान गरिएको छ । 

बंगलादेश र श्रीलंकाको असन्तुष्टि

भारत र पाकिस्तानबीचको खेल रिजर्भ डेमा राखेपछि बंगलादेश र श्रीलंकाले असन्तुष्टि जनाएका छन् । बंगलादेशका प्रशिक्षक चन्डिका हाथुरुसिंघा र श्रीलंकन प्रशिक्षक क्रिस सिल्वरवुडले दुखेसो पोखेका हुन् । श्रीलंकन प्रशिक्षक एसिसीको यो निर्णयबाट आफू ‘सरप्राइज’ भएको बताउँछन् । ‘रिजर्भ डेको कुरा सुन्दा सरप्राइज भएँ । 

हामी प्रतियोगिता आयोजनाको सहआयोजक हौँ । त्यसैले केही पनि गर्न सक्दैनौँ,’ क्रिसले भनेका छन्, ‘रिजर्भ डेमा कुनै टोलीले अंक पाउँछ भने हामीलाई त समस्या हुन्छ । तालिकामा हामी प्रभावित हुन्छौँ,’ क्रिसले दुखेसो पोखेका छन् । 

बंगलादेशका प्रशिक्षक चन्डिकाले एसिसीको यो निर्णय ठीक नभएको बताएका छन् । ‘मैले प्रतियोगिता जारी हुँदा नियम नै परिवर्तन भएको देखेको छैन,’ चन्डिाकाले भने, ‘सहभागी सबै टोलीको टेक्निकल टोली एकै स्थानमा छ । सबैलाई राखेर यो निर्णय गर्नुपथ्र्यो । हामीलाई पनि एउटा रिजर्भ डे हुनुपथ्र्याे ।’

भारतको सर्वाधिक ४४ खेल रद्द

एकदिवसीय इतिहासमा भारतको ४४ खेल रद्द भएको छ । भारतले हालसम्म एक हजार ३३ एकदिवसीय खेल खेल्दा ४४ पटक खेल अनिर्णीत बनेको छ । अधिकांश खेल वर्षाका कारण रद्द भएका छन् । केही खेल भने अन्य कारण रद्द भएका छन् । सर्वाधिक धेरै खेल रद्द हुनेमा भारत शीर्ष स्थानमा छ । दोस्रो स्थानमा न्युजिल्यान्ड रहेको छ । न्युजिल्यान्डले आठ सय ४ खेल खेल्दा ४२ खेल अनिर्णीत बनेको हो । श्रीलंकाले आठ सय ९६ खेल खेल्दा ३९ खेल रद्द भएका छन् । चौथो स्थानमा रहेको अस्ट्रेलियाको ३४ तथा पाँचौँ स्थानमा रहेको इंग्ल्यान्ड र छैटौँ स्थानको वेस्ट इन्डिजको समान ३० खेल रद्द भएका छन् । यसैगरी, पाकिस्तान र दक्षिण अफ्रिकाको समान २१, जिम्बावेको १३ तथा बंगलादेशको ९ र अफगानिस्तानको चार खेल अनिर्णीत भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!