एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित

Posted on: 24 Sep, 2023

असोज ७, काठमाडौँ | १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिष्पर्धा गर्नेछ । बिदाई कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको बताए । उनले मेडल हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए । 


उनले भने, ‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरु रेडि छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।’

खेलाडीहरुलाई बिदाई गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरु लाग्ने बताए । उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

 उनले भने, ‘पहिलाको भन्दा उत्कृष्ट रुपमा यो कार्य समितिले यहाँहरुको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौँ । एसियाडको अग्रिम शुभकामना छ । हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ । यसमा सम्भवना छ । नेपालको शिर उच्च हुनेगरी खेलिरहनुभएको छ । मनोबल बढीरहेको छ । सबैले मन पराउनुभएको छ । एकतावद्ध भएर खेल्नुपर्छ ।’

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरु रहेको बताए । उनले कुनैपनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भुमिका खेलेको बताए । 


नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टीमसँगै नगएका हुन् । तर  सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । उनी मंगलवारसम्म प्रतियोगितामा सहभागी हुन चीन जानेछन् ।

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!