दोस्रो पटक टी-२० विश्वकपमा नेपाल: विश्वकपको ढाँचा २०१४ को भन्दा अहिले धेरै फरक

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको छ । आज भएको विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको टिकट काट्न सफल भएको हो ।

नेपालले यसअघि बंगलादेशमा सन् २०१४ भएको टी-२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टीममा छन् ।

त्यो विश्वकपदेखि यो विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइसकेको छ । त्यसबेला नेपालको मुख्य अस्त्र बलिङ थियो भने ब्याटिङ हाम्रो कमजोरी थियो । अहिले ब्याटिङ हाम्रो मुख्य अस्त्र बनेको छ भने बलिङ सहायक । नेपालको ब्याटिङले बलिया टीमहरुलाई पनि तर्साउने क्षमता राख्छ ।


विश्वकपको ढाँचा पनि २०१४ को भन्दा यो पालि धेरै फरक हुनेछ । सन् २०१४ मा फुल मेम्बर टीम र एसोसिएट टीमबीच स्पष्ट विभाजन रेखा कोरिएको थियो । विश्वकपमा स्थान बनाए पनि ८ वटा टीमले सीधै ठूला टीमहरुसँग प्रतिस्पर्धा गर्न पाउँदैनथे ।

पहिलो राउन्डमा ८ वटा ‘कमजोर’ टीमबीच प्रतिस्पर्धा गराइएको थियो । त्यसमा उत्कृष्ट दुई टीमले सुपर १० मा प्रवेश पाउँथे । आईसीसी वरियताको टप ८ मा रहेका टीमहरु भने सीधै सुपर १० मा पुर्‍याइएका थिए ।

त्यसबेला पहिलो राउन्डमा नेपालसहित बंगलादेश, जिम्बावे, अफगानिस्तान, नेदरल्यान्ड्स, आयरल्यान्ड्स, यूएई र हङकङले प्रतिस्पर्धा गरेका थिए । नेपालको समूहमा बंगलादेश, अफगानिस्तान र हङकङ थिए । नेपालले तिनै टीमसँग खेल्ने अवसर पाएको थियो ।

विश्वकपमा पुगेर पनि नेपालले टेस्ट टीमसँग भिड्न पाएन । नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । तर, बंगलादेशसँग पराजित भएपछि नेपालको यात्रा त्यही समाप्त भयो । त्यसबेला पहिलो चरणबाट बंगलादेश र नेदरल्यान्ड्स सुपर १० मा पुगेका थिए ।

तर, आगामी विश्वकपको ढाँचा भने फरक छ । सन् २०२४ को जून ४ देखि ३० सम्म चल्ने विश्वकपमा २० वटा टीम सहभागी हुनेछन् । सबै टीमलाई समान हैसियतमा चार वटा समूहमा बाँडेर खेलाइनेछ । एउटा समूहमा पाँच टीम हुनेछन् ।

प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टीमले सुपर ८ मा स्थान बनाउनेछन् । यी ८ टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइनेछ । दुवै समूहबाट दुई-दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सन् २०२२ को विश्वकपमा टप ८ मा रहेका टीमहरुले स्वतः अर्को विश्वकप खेल्न पाउनेछन् । यस्तै आयोजक राष्ट्रहरुले पनि छनोट खेल्नु नपर्ने प्रावधान छ । जसअनुसार अमेरिका र वेस्ट इन्डिज पनि स्वतः सहभागी हुनेछन् । यसैगरी आईसीसीको वरियतामा माथिल्लो श्रेणीमा रहेका (सन् २०२२ नोभेम्बर १४  मा) थप २ टीमले पनि क्वालिफायर खेल्नुपर्दैन । यसप्रकार १२ वटा टीम स्वतः टी-२० विश्वकपमा छनोट भइसकेका छन् ।

यसरी स्वतः छनोट भएका १० टीममा अमेरिका, वेस्ट इन्डिज (आयोजक राष्ट्रको हैसियतमा) अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका (अघिल्लो विश्वकपको टप ८ मा रहेका), अफगानिस्तान र बंगलादेश (स्वतः छनोट नभएकामध्ये सन् २०२२ नोभेम्बर १४ मा आईसीसी वरियताको माथिल्लो क्रममा रहेका) छन् ।

बाँकी आठ वटा स्थानका लागि आईसीसीले क्षेत्रीय छनोट प्रतियोगिता गराइरहेको छ । जसअनुसार अफ्रिका, एसिया र यूरोप छनोटबाट टप २ टीम टी-२० विश्वकपमा पुग्छन् । यूरोप क्वालिफायरबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन् । इस्ट एसिया प्रशान्त क्वालिफायरबाट पपुवा न्यूगिनी विश्वकपमा पुगेको छ ।

यस्तै अमेरिका क्वालिफायरबाट क्यानाडा छनोट भएको छ भने एसिया क्वालिफायरबाट नेपाल र ओमान छनोट भएका छन् । अब अफ्रिका क्वालिफायर नामिबियामा २२ देखि ३० नोभेम्बरसम्म हुँदैछ । त्यो सकिएपछि मात्रै विश्वकपको ड्र हुनेछ ।

प्रत्येक टीमले विश्वकपमा कम्तिमा ४ वटा म्याच खेल्न पाउनेछन् । नेपालले पनि समूह चरणमा ४ वटा म्याच खेल्नेछ, जसमध्ये दुई वटा टेस्ट राष्ट्र हुन सक्छन् ।

टी २० खेल्ने टुंगो लागेका १८ देश

अमेरिका

वेस्ट इन्डिज

अष्ट्रेलिया

इङ्ग्ल्यान्ड

भारत

नेदरल्यान्ड्स

न्यूजिल्यान्ड

पाकिस्तान

साउथ अफ्रिका

श्रीलंका

अफगानिस्तान

बंगलादेश

आयरल्यान्ड

स्कटल्यान्ड

पपुवा न्यूगिनी

क्यानाडा

नेपाल

ओमान

यस बिषयमा तपाइको प्रतिक्रिया...!