साउन १३, काठमाडौं | क्यानाडामा जारी ग्लोबल टी–२० मा नेपालका तीन खेलाडी खेलिरहेका छन् । तीनै जना खेलाडी आबद्ध क्लबको खेल शनिबार थियो । सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध छन् ।
ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले हरायो । १ सय ५३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।
खेलमा दिपेन्द्रसिंह ऐरी दुई बलमा एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले भने दुई विकेट लिएका थिए । यद्यपी उनले चार ओभरमा ३२ रन खर्चिए । ब्याटीङतर्फ सन्दीपले नटआउट २ रन बनाए ।
टोलीका लागि हर्ष ठाकेरले नट आउट रहँदै ६७ बलमा ७९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दोस्रो हारसँगै भ्यानकुभर अङ्क तालिकामा पुछारबाट दोस्रोमा छ ।
उता रोहित आबद्ध टोरन्टो नेशनल्स्ले भने सानदार जित हात पारेको छ । ब्रामटन वल्भसविरुद्ध टोरन्टो ८ विकेटले विजयी भएको हो ।