धनुषा | धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनकी श्रीमती सिर्जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारका अनुसार, शुक्रबार साँझ गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्र्याक नजिकै शिवशंकरको शव फेला परेको थियो।
प्रहरीले शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको र शवलाई घिसारेर अन्यत्र लैजान खोजेको जस्तो देखिएको जनाएको छ। शवको सनाखत आइतबार भएको थियो भने हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
शिवशंकर बिहीबार श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर जान निस्किएका थिए। मृतकका भाइ राम महतोका अनुसार, महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेपछि सिर्जनाले माइतबाट थप दुईवटा मोटरसाइकल बोलाएकी थिइन्। एउटा मोटरसाइकलमा सिर्जना छोरा लिएर गइन् भने अर्को मोटरसाइकलमा शिवशंकरलाई लैजाने व्यक्ति पहिचान भइसकेको डीएसपी जयसवारले जानकारी दिए।
शिवशंकर मुम्बईबाट करिब डेढ महिना पहिले मात्रै घर फर्किएका थिए। परिवारका अनुसार, केही दिनअघि ससुरालीमा भएको विवादपछि शिवशंकरमाथि कुटपिट भएको थियो। त्यसयता उनी पुनः ससुराली जान मानेका थिएनन्। तर, श्रीमती सिर्जनाले ‘नाना बिते’ भन्दै उनलाई जान बाध्य बनाएको भाइ रामले बताए।
प्रहरीले पारिवारिक विवाद र प्रेम सम्बन्ध जस्ता कोणबाट समेत अनुसन्धान जारी राखेको जनाएको छ। सिर्जनालाई हिजो पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी जयसवारले जानकारी दिए।