काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेसमा सरकारको कार्यसम्पादनप्रति नेताहरूले सार्वजनिक मञ्चबाट विरोध जनाउन थालेपछि सभापति शेरबहादुर देउवाले बिहीबार मन्त्रीसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए । बैठकमा सरकारका कामबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएको अभिव्यक्तिमाथि संस्थापन समूहका पदाधिकारीले प्रश्न उठाए ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले असन्तुष्टिका कुरा पार्टीभित्र राख्नुपर्ने बताए । ‘हामीले बाहिर राख्नेभन्दा सम्बन्धित संरचनामा कुरा राख्नुपर्यो, त्यहाँबाट आएका विषयमात्र बाहिर राख्नुपर्यो,’ आफूले राखेको भनाइबारे प्रवक्ता महतले शिलापत्रसँग भने, ‘हामीले भनेको कुरालाई उहाँहरूले महसुस गर्नुभएको छ ।’‘सरकारको पर्फमेन्स बेटर हुनुपर्छ । बढी समन्वय, सन्तुलन र तालमेल हुनुपर्छ भन्ने कुरा भयो । सशक्त माध्यमबाट डेलिभरी हुनुपर्छ र तालमेल हुनुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो,’ महतले भने । नेताहरू विमलेन्द्र निधि र कृष्ण प्रसाद सिटौला बैठक सक्नुअघि नै निष्किएका थिए । सिटौलाले नयाँ कुरा केही पनि नभएको बताए । निधिले भने जनकपुरमा पूर्व निर्धारित काम भएकाले आफू पहिला नै बैठकबाट बाहिरिएको बताए ।
बैठकमा महामन्त्री गगन थापाले बाहिर बोल्दै आएका कुरा उठाएका थिए । सरकारले डेलिभरी दिन नसकेको, प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको प्रभाव रहेको, एमालेसँगको सहकार्यमा गलत कामको भारी बोक्न तयार नभएको लगायतका कुराहरू कांग्रेस नेताले उठाउँदै आएका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बैठकमा सोही कुरा दोहोर्याएका थिए । जवाफमा सभापति देउवाले सरकारको डेलिभरीका बारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । त्यस्तै, कांग्रेसबाट मन्त्री भएकाहरू र पदाधिकारीको समीक्षा बैठक राख्ने बताए । उनले गभर्नरमा गुणाकर भट्टको नियुक्ति हुन सक्ने संकेत गरेका थिए ।