काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्तीकुमारी शाहीलेले राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २१औं शताब्दीको सबैभन्दा उत्कृष्ट विचार राप्रपाले बोकिरहेको बताएकी हुन् । उनले १३औं शताब्दीको विचार बोक्ने कम्युनिष्टहरु चाहीँ प्रतिगामी रहेको बताईन् ।
‘तपाईंले भन्नुभयो– हामी प्रतिगामी । राजासहितको प्रजातन्त्र विचार बोक्ने प्रतिगामी ? २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार भनेको राजासहितका प्रजातन्त्र हो । विश्व मानचित्रमा सबैभन्दा धनी देश, सबैभन्दा खुसी जनता भएको देशमा राजासहितको प्रजातन्त्र छ । उहाँ (कम्युनिष्ट) हरुले मानेको विचार १३औं शताब्दीको विचार बोकेर नेपाली जनतालाई भ्रम छर्दै हुनुहुन्छ,’– उनले भनिन् ।
साथै, फरक प्रसँगमा उनले तीनकुनेको हिंसात्मक घटनामा राप्रपालाई जोड्न नमिल्ने बताईन् । उनले त्यो प्रदर्शन राप्रपाको नभएर नितान्त दुर्गा प्रसाईँको रहेको बताईन् । उक्त घटनामा सरकारले न्यायिक आयोग गठन गरी निष्पक्ष छानविन गर्नुपर्ने महामन्त्री शाहीको माग छ । ‘हामी त सहभागी नै थिएनौं, जसले गरेको भएपनि न्यायिक आयोग गठन गरियोस् । जसले गरेको छ, कानुनको कठघरामा ल्याउनुस्,’– उनले भनिन् ।