२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक छः राष्ट्रपति पौडेल

२०८२, १० असार मंगलवार १७:३५

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित ‘स्टार्टअप’ कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीतिनिर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बीउबिजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।”

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पूरा गर्न सकिने बताउनुभयो । उहाँले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता तथा उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्यून आय हुने परिवारको पेसाका रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताउनुभयो ।

“शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेसा बनाई यसैबाट लाखौँ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नवीनतम प्रविधि भित्रिएको छ । कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दुग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको जनाउँदै उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “गरिबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता पनि कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता छ ।”

सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट ‘आर्य कृषि फार्म’का सुरेशकुमार मेहता र ‘रमेश कृषि फार्म’का रमेश साह, मधेश प्रदेशबाट ‘शम्भुनाथ माछा फार्म’का भरतकुमार यादव र निजगढ केरा एग्रिकल्चर फार्मका हिराबहादुर थापा मगरलाई पुरस्कृत गर्नुभयो ।

यसैगरी बागमती प्रदेशबाट कालिका पशु विकास केन्द्रका चेतप्रसाद ढकाल र ग्रिनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकी प्रदेशबाट ङवाङहिसी कृषि तथा पशुपन्छी अग्र्यानिक फार्मका छिरिङ गुरुङ र मित्र वाटिका कृषि फार्मका बाटुली तिवारी, लुम्बिनी प्रदेशबाट जयपाल मौर्य र शान्ति उन्नत पशुपालन तथा माछा फार्मका सुवास कुर्मी, कर्णाली प्रदेशबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट खप्तड पशुपन्छी तथा कृषि फार्मका प्रेमप्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फार्मका लोकबहादुर थापालाई राष्ट्रपति पौडेलले सम्मान गर्नुभयो । पुरस्कृत सबै कृषकलाई जनही रु दुई लाख र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले माटोमा बगाएको पसिनाले हाम्रो भान्छा भरिएको मात्र नभइ मुुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुगेको बताउनुभयो । “कृषकको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन दिएको छ, तपाईहरुलाई पुरस्कृत गरिँदा कृषि पेशालाई सम्मानित, सम्भावनायुक्त र भविष्यदृष्टि भएको पेसाको रूपमा स्थापित गर्नेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले राज्यले अनुदानभन्दा पनि कृषि व्यवसायमा संलग्न किसानहरुका लागि न्यून व्याजदरमा सहुलियत ऋण, समयमै मलखाद र सिँचाइको उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सोही मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले क्रियाशील कृषकलाई राष्ट्रिय कृषि पुरस्कार प्रदान गर्दा कृषि कर्म गर्न प्रेरित गर्नुका साथै आयआर्जन र रोजगारी सिर्जना गर्न सकिने सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे