२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार

१४ असार २०८२, शनिबार १४:२२
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत गरेको छ । अठ्ठाइस आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरूको सञ्जालमार्फत स्वदेशमा आँखा उपचार सेवा प्रदान गर्दै आएको सङ्घले यही असार १३ गते ओमानको राजधानी मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गरेको हो ।
ओमानस्थित नेपाली राजदूतावासको समन्वय र सहकार्यमा नेपाली नेत्रविशेषज्ञले मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गर्नुका साथै आवश्यक पर्ने बिरामीलाई चस्मासमेत वितरण गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मस्कटस्थित बदर अल समा अस्पताल र अल खुवेर अस्पतालमा आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । शिविर आयोजनाका लागि त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालले विशेष समन्वय र सहजीकरण गर्नुभएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
विभिन्न कामको सिलसिलामा मुलुकबाहिर गएका नेपालीलाई आँखा उपचारमा सहजता होस् भन्ने उद्देश्यले नेपाली राजदूतावाससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार आँखा परीक्षणपछि चश्मा आवश्यक देखिएका बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । प्रायः विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । उहाँले भन्नुभयो, “विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । श्रमिकहरूलाई त्यहाँ उपचार गराउन कठिन हुनसक्छ भनेर उहाँहरूको अवस्थालाई ख्याल गरेर आँखा परीक्षण कार्यक्रम राखेका हौँ ।”
अन्य देशहरूमा रहेका नेपाली श्रमिकलाई लक्षित गरेर आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महासचिव चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको आँखा उपचार सस्तो एवं गुणस्तरीयताका कारण अन्य देशका नागरिक पनि यहाँ आँखा उपचार गराउन आउने गर्दछन् ।
चन्दले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय आँखा सेवा पु¥याउँदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यसै सेरोफेरोमा सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा आफ्ना योजना र कार्यक्रम केन्द्रित छन् । विदेशमा हुने आँखा परीक्षण कार्यक्रमले विश्व समुदायमा नेपालको सेवाका बारेमा प्रचारप्रसार र प्रवर्द्धन हुनेछ ।”
ओमानस्थित नेपाली राजदूतका अनुसार अनलाइनमार्फत नाम दर्ता गराएका नेपालीको आँखा परीक्षण गरिएको हो । यो कार्यक्रमको समीक्षापछि आगामी दिनमा ओमानका अन्य सहरमा नेत्रज्योति सङ्घसँगको सहकार्यमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहको दूतावासले जनाएको छ ।
सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विदेशमा नेपालीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सङ्घको योजनामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको आँखा उपचार सेवा विश्वमा अब्बल छ भन्ने कुरालाई प्रमाणित गरेर नेपाललाई आँखा उपचारको हव बनाउन सकिन्छ । यसका लागि विदेशमा परीक्षण थालनी गरेका हौँ ।”
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मात्र मात्र सङ्घको सञ्जालमार्फत भारतलगायत अन्य छिमेकी मुलुकका करिब नौ लाख आँखाका बिरामीको परीक्षण गरिएको छ भने एक लाख ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ ।
उहाँले भन्नुभयो, “छिमेकी देशबाट जसरी हाम्रो आँखा उपचार सेवाको गुणस्तरीयताका कारण नागरिकहरू आइरहनुभएको छ त्यसरी हामीले अन्य देशका नागरिकलाई नेपालको आँखा उपचारका लागि आकर्षित गर्न सक्छौँ ।” उहाँका अनुसारा स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका  सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार  करोड ६८ लाख ६८ हजार ६० जना बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता