२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री

२०८२, १८ असार बुधबार १६:२३

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट)मा रहेको र मुलुकलाई सघन निगरानी सूचीबाट हटाउन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाउनु परेको बताउनुभएको छ ।

विनियोजन विधेयक, २०८२ माथि राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सुनचाँदी तथा गरगहना खरिद–बिक्रीको कारोबारलाई पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभएको हो । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै प्रकारका गरगहना र सुनचाँदी खरिदमा विलासिता कर लगाउने निर्णय गरेको थियो ।

“पहिले पनि रु १० लाखभन्दा माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लाग्दै आएको थियो । अहिले त्यसमा लगाइएको सीमा (थ्रेसहोल्ड) हटाइएको मात्र हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “हामी सम्पत्ति शुद्धीकरण मामिलामा एफएटिएफको सघन निगरानी सूचीबाट बाहिर निस्कनका लागि सुनको कारोबार पारदर्शी बनाउन आवश्यक थियो । सुनलगायतका वस्तुको कारोबारमा शुद्धता होस् र सम्पत्ति शुद्धीकरणको रकम त्यहाँ लगानी नहोस् भनेर विसासिता शुल्क लगाइएको हो ।” विलासिता करका विषयमा सुनचाँदी व्यवसायीहरुले विरोध जनाइरहेकोमा उनीहरुसँग छलफल भइरहेको र चाँडै सार्थक निष्कर्ष निस्कने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै, आगामी आवको बजेट कार्यान्वयनयोग्य रहेको दावी पनि अर्थमन्त्री पौडेलले गर्नुभयो । बजेटको स्रोत सुनिश्चितता गर्दा आन्तरिक राजस्व व्यवस्था, ऋण तथा अनुदान शीर्षकहरुको यथार्थपरक विश्लेषण गरिएको उहाँको भनाइ छ । विकास र समृद्धिको आकांक्षा पूर्ति गर्नका लागि घाटा बजेट ल्याउनु खराब नरहेको तर्क गर्नुहुँदै अर्थमन्त्री पौडेलले पुँजी निर्माणका क्षेत्रमा ऋण खर्च गर्ने नीति लिइएको दाबी गर्नुभयो । “हामीले बजेट प्रस्ताव गर्दा राजस्व महत्वपूर्ण स्रोत हो । त्यसलाई यथार्थपरक ढङ्गले अनुमान गरिएको छ । आन्तरिक तथा बाह्य ऋण र अनुदानको विश्लेषण पनि सही छ”, अर्थमन्त्री पौडेलले राष्ट्रियसभामा भन्नुभयो, “ऋणको दायरा असीमित नहोस् र धान्न नसकिने नहोस् भन्नेमा सचेत छौँ । ऋणलाई उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि खर्च गर्नुपर्नेमा हामीले जोड दिएका छौँ ।” राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको आन्तरिक ऋणको सीमाभित्रै रहेर आगामी आवको बजेट स्रोत प्रस्ताव गरिएको पनि उहाँले बताउनुभयो । राजस्व दायरा बढाउने र दरहरुमा स्थिर नीति लिने तथा अनुमानयोग्य बनाउने तरिकाले सरकारले काम गरेको दाबी अर्थमन्त्री पौडेलले गर्नुभयो । चुहावट नियन्त्रण गर्ने र आधुनिक प्रविधिको प्रयोग गरेर राजस्वका लक्ष्य हासिल गर्न सकिनेमा आशावादी रहेको उहाँको भनाइ छ ।

बजेट तजबिजीका आधारमा नभई प्रक्रियामा रहेर आएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । “बजेट बनाउँदा न्याय, विवेक, आवश्यकता, औचित्य हेरिएको छ । कुनै शक्ति पहुँच, गुट, उपगुट हेरिएको छैन । भौगोलिक सन्तुलन कायम गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्राथमिकताका आयोजना चाँडो निर्माण सम्पन्न गर्ने, नागरिकलाई उत्पादन रोजगारी तथा सामाजिक सुरक्षासँग जोड्ने र उद्यमशीलता प्रवद्र्धन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको छ ।”

बजेट निर्माणमा सांसदहरुको पर्याप्त सहभागिता भएको पनि पौडेलले दाबी गर्नुभयो । “बजेट अघि नीति तथा कार्यक्रम र सिद्धान्त माथि सदनमा आएका सुझावलाई समेटेर र उचित महत्व दिएर बजेटमा त्यसलाई सम्बोधन गर्न खोजिएको छ । यस आधारमा बजेटमा सांसदहरुको उन्नत हिसाबले सहभागिता भएको छ । बजेट कर्मकाण्डी नभई यथार्थपरक छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

आजै अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीको तर्फबाट राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको समेत जवाफ दिनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो